तक्दीर अधिकारी
सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले तीज कार्यक्रम विशेष उत्सवका रुपमा मनाउने तयारी गरेको छ । अगस्ट ३१ शनिबार मनाइने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सञ्जालका अध्यक्ष कृष्ण गैरेले लन्डन नेपाल न्यूज डटकमलाई जानकारी दिए ।
तीज कार्यक्रमलाई उत्सवका रुपमा मनाउन नेपालबाट चर्चित लोक दोहोरी गायिका शितल शर्मा र नवीन पौडेललाई आमन्त्रण गरिएको छ । इन्द्रेणी फङसन सेन्टर रकडेलमा आयोजना हुने उक्त कार्यक्रममा प्रवेशका लागि ३५ डलर तोकिएको छ । कार्यक्रमलाई माइल्स इन्टरनेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ भने भिसा पार्टनरका रुपमा स्मार्ट एजुकेशन अघि सरेको छ ।
सन् २०१५ मा स्थापना भएको रुपन्देही सामाजिक सञ्जालले प्रत्येक वर्ष सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष पहिलो नेपाल आइडलमा शीर्ष तीनजनाभित्र परेका गायक निशान भट्टराईलगायतको टोलीले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
प्रत्येक वर्ष मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको सञ्जालले यस वर्ष कार्यक्रमका लागि तीज पर्वलाई रोजेको छ । नेपाली महिलाहरुको महान चाडलाई तीजलाई सदुपयोग गर्दै डिनरसहितको सांगीतिक माहोलमा तीज विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष गैरेले जानकारी दिए ।
सांगीतिक कार्यक्रमबाट संकलन भएको रकमलाई आकस्मिक कोषमा जम्मा गरिन्छ । रुपन्देहीमा दैविक प्रकोप भए उक्त आकस्मिक कोषबाट सञ्जालले सहयोग उपलब्ध गराउँदै आएको छ । यसका साथै समस्यामा परेका व्यक्तिलाई नगद सहयोग र अनाथ बालबालिकाको शिक्षामा समेत सञ्जालले आकस्मिक कोषबाट सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष गैरले जानकारी दिए ।







