काठमाडौं । मनसुनपछिको विपदका कारण देशभर १ सय ११ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाको मृत्यु भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाको मृत्यु भएको छ । पहिरोबाट ४५ र भारी वर्षाका कारण ८ जनाको मृत्यु भएको छ । बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट १ अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट २ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ ।
यसैबीच, सरकारले आज पनि केही स्थानमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो तथा डुबानको जोखिमयुक्त क्षेत्रमा साबधानी अपाउन आग्रह गरेको छ । राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले आगामी तीन दिन मुख्य नदीमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने तर केही साना नदी तथा खोलामा आकश्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।
केन्द्रले ईलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङजा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा र आसपास केही साना खोलामा आकश्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी दिएको छ ।






