‘सेन्टिमेन्टल किङ’ दीप श्रेष्ठ उलविचमा गुञ्जिने

शिव भण्डारी
लन्डन । कर्णप्रिय स्वरका धनी दीप श्रेष्ठ लन्डनमा गुञ्जिने भएका छन् । उलविचको लोटस क्लबमा १९ जुलाई शुक्रबार आयोजना हुने ‘दिप श्रेष्ठ साँझ हाम्रो माँझ’ सांगीतिक कार्यक्रममा कालजयी स्वरका धनी श्रेष्ठ गुञ्जिने भएका हुन् ।

उक्त सांगीतिक कार्यक्रममा वरिष्ठ गायक श्रेष्ठले ‘म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर’ भन्दै दर्शकलाई मन्त्रमुग्ध मात्र बनाउने छैनन, यतिबेला बाढी पहिरोको सन्त्रासमा नेपालीले दिन बिताइरहेका छन् भन्दै ‘हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ भनेर बेलायतबासी नेपाली समुदायलाई झस्काउने पनि छन् ।

लोटस क्लबमा  ‘बितेका कुराले केही चोट लाग्दा, तिमी टाढा हुँदा धेरै दुःख लाग्छ’ ‘कति कमजोर रहेछ भाग्य मेरो, तिम्रो सिउँदो कोर्न सकिन’ जस्ता दीप श्रेष्ठका कालजयी गीतबाट बेलायतबासी नेपालीले ती पुराना दिनहरु पनि सम्झने छन् ।

२०२० सालमा संगीत आकाशमा उदाएका श्रेष्ठ ख्याति प्राप्त गायक मात्र नभई, सशक्त सांगीतिक व्यक्तित्व हुन् । उनी एक रचनाकार पनि हुन् अनि अदितीय संगीतकार पनि । ५ दशकभन्दा लामो समय संगीत क्षेत्रमा बिताएका श्रेष्ठ एउटा अतुलनीय योगदान र अवर्णनीय उदाहरण हुन् ।

२०२५ साल पुस ३ गते पहिलो गीत ‘म पत्थरको देवता होइन’ रेकर्ड गराएर औपचारिक सांगीतिक यात्रा शुरू गरेका थिए । नारायण गोपाल, प्रेमध्वज प्रधान, बच्चु कैलाश, माणिकरत्न स्थापित र पुष्प नेपालीहरूजस्ता एकसे एक गायकले भरिएको चुनौतीपूर्ण सांगीतिक आकाशमा पनि आफूलाई चम्किलो ताराका रूपमा चम्काउन सफल भए ।

सुमधुर र सुरिलो स्वरको महत्वपूर्ण भूमिका त छँदै थियो, त्यसबाहेक कर्णप्रिय संगीत र मानवीय संवेदनाले भरिपूर्ण शब्द रचनाको अभूतपूर्व संगमका कारण स्रोताको मनमा गहिरो छाप छोड्न उनी सफल छन् । त्यस्तो ठूलो चुनौतीपूर्ण कालमा आफ्नो सांगीतिक यात्रा सुरू गरेका यी ‘सेन्टिमेन्टल किङ’ले आजसम्म पनि उस्तै लोभलाग्दो ख्याती कमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *