बेलायतमा एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले भव्य रुपमा मनायो होली(फोटो फिचर)

शिब भण्डारी

लण्डन । आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ्ग र अबिरको पर्व होली पर्वको रौनक बेलायतमा पनि देखिएको छ ।

यसैबीच एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले पनि होली पर्व विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । बेलायतस्थित संस्थाका १५० जना प्रतिनिधिहरुको उपस्थितिमा आईतबार किनाज रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरि ऐसोसिएसनले होली पर्व मनाएको हो ।

बेलायतमा रहेका मधेशी समुदायहरुमा होली पर्वको शुभकामना आदान प्रदान तथा एक आपसमा सदभाव र श्रद्धा प्रकट र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरि मनाएको एसोसियसनका अध्यक्ष भाग्य नारायण रायले लण्डन नेपाल न्यूजलाई  बताए ।

उक्त अवसरमा एक आपसमा रगं तथा अविर लगाएर र नाच गान सहित भव्य रुपमा होली मनाईएको छ । असत्यविरुद्ध सत्यको जीत हुने सन्देश प्रवाह गर्ने यस पर्वको गरिमा र महत्वलाई बुझेर यस पर्वको नाउँमा उच्छृङ्खलता र विकृति बढ्न नदिनतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने उनको भनाई छ । उनले कार्यक्रममा उपस्थित भएर होलीलाई अझै रौनक र रमाईलो बनाईदिएकोमा सबैप्रति आभार व्यक्त गरे ।

विगतमा कोरोना सक्रंमणका कारण हुन नसकेको होली २ वर्षपछि औपचारिक कार्यक्रमको आयोजना गरि मनाईएको हो।

यसैबीच एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले बेलायतमा हरेक बर्ष छठ पर्व विशेष कार्यक्रम गर्दै आएको र यो बर्ष अझ भब्य रुपमा गर्ने तयारी भै रहेको रायले बताए ।