कस्को पक्षमा जाला एनआरएनए अस्ट्रेलियाको नेतृत्व ?

तक्दीर अधिकारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि जुलाई ६ शनिबार निर्वाचन हुँदैछ । प्यानल बनाएर निर्वाचनमा होमिएका दुई पक्ष मतदाता आफ्नो पक्षमा पार्न युद्धस्तरमा लागेका छन् । प्रत्येक वर्ष बढ्दो सदस्य संख्याले गर्दा कुन पक्षले नेतृत्व हत्याउने हो अहिले नै अनुमान लगाउन हतार हुन्छ । यद्यपि एनआरएनए अस्ट्रेलियाको विगत, अहिलेको गतिविधि र दुवै पक्षको एजेन्डालाई तुलना गर्ने हो भने यसपटकको प्रतिस्पर्धा ‘टर्फ’ हुने देखिएको छ ।

यो आठौं निर्वाचन हो । सन् २०१७–१९ को कार्यकालभन्दा अहिले ४ हजार सदस्यता बढेको छ । अर्थात् त्यसबेला ८ हजार ५ सय मतदाता थिए, त्यसबेला झन्डै ७० प्रतिशत मत खसेको थियो । यसपटक ११ हजार ९ सय २ सदस्यता संख्या पुगेको छ । यसपटक वृद्धि भएको मतदाता निर्णायक हुन् भन्ने कुरामा कुनै दुविधा छैन । विगतमा जस्तै यसपटक पनि ७० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।

 

समावेशी र रुपान्तरण नाम दिए पनि यो चुनावी रणनीति मात्र हो भन्ने स्पष्ट छ । दुवै समूहमा उम्मेदवार समावेशी देखिएको छैन । महिला, जनजाति, दलित र अन्य समूहलाई समेट्ने प्रयास एकरत्ति देखिदैन । समावेशी समूहले दुई महिला र तीन जनजातिलाई समेटे पनि रुपान्तरणमा त्यो देखिएको छैन । त्यसकारण समावेशी र रुपान्तरणको मर्मलाई बुझेर चुनावी मैदानमा गएजस्तो देखिदैन ।

 

यो दुई समूहमा मतदाताले खासै भिन्नता देखेका छैनन् । समावेशी र रुपान्तरण नाम दिएर दुईवटा समूह चुनावी मैदानमा छ । अझ बुझ्ने भाषामा भन्नुपर्दा समावेशीको अर्थ वाम गठबन्धन र रुपान्तरणको अर्थ लोकतान्त्रिक समूह हो । यी दुई समूहको एजेन्डा पनि खासै फरक छैनन् । समावेशी समूहले कार्यालय स्थापना गर्ने भनेको छ भने रुपान्तरणले कार्यालयलाई अहिलेको समय सापेक्ष बनाउने बनेको छ । भच्र्युल अर्थात् एप्स तयार गरेर त्यसैअन्तर्गत कार्यालय सञ्चालन गर्ने एजेन्डा रुपान्तरण समूहले अघि सारेको छ ।

समावेशी र रुपान्तरण नाम दिए पनि यो चुनावी रणनीति मात्र हो भन्ने स्पष्ट छ । दुवै समूहमा उम्मेदवार समावेशी देखिएको छैन । महिला, जनजाति, दलित र अन्य समूहलाई समेट्ने प्रयास एकरत्ति देखिदैन । समावेशी समूहले दुई महिला र तीन जनजातिलाई समेटे पनि रुपान्तरणमा त्यो देखिएको छैन । त्यसकारण समावेशी र रुपान्तरणको मर्मलाई बुझेर चुनावी मैदानमा गएजस्तो देखिदैन ।

विद्यार्थीको समस्या, अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई समेट्ने कुरा, नेपालमा गरिने समाजसेवा र अस्ट्रेलियामा आयोजना हुने च्याटिरी कार्यक्रमबारे उनीहरुले उठाएका एजेन्डा खासै फरक छैनन् ।

यता, नेपालीहरुको धेरै बसोबास भएको न्यू साउथ वेल्सको निर्वाचनलाई चासोको रुपमा हेरिएको छ । उपाध्यक्षमा समावेशीले देव गुरुङ र रुपान्तरणको तर्फबाट डिला खरेललाई अघि सारेको छ । उनीहरुको प्रतिस्पर्धालाई पनि निक्कै चासोको रुपमा हेरिएको छ ।

व्यक्ति र एजेन्डाभन्दा पनि वामपन्थी र लोकतान्त्रिक विचारले यो निर्वाचनको महत्वपूर्ण फ्याक्टर हुने जानकारहरु बताउँछन् । विगतमा लोकतान्त्रिक समूहले नेतृत्व लिएको, भिक्टोरिया क्षेत्रबाट प्रतिनिधित्व गरेर कार्यसमितिमा रहेका कामको अनुभव हासिल गरेका केशव कँडेल समूहले समावेशी समूहलाई निराश नपर्लान् भन्ने सक्ने अवस्था छैन ।

यता वामपन्थी एकता, एनआरएनको कार्यालय स्थापना गरेर पारदर्शीता अपनाउने समावेशी समूहको नेतृत्व गरेका दिनेश पोखरेल यसपटक नेतृत्व परिवर्तन गर्ने तयारीका साथ चुनावी मैदानमा छ । लोकतान्त्रिक समूहमा उम्मदेवार चयनका बेला देखिएको विवाद दिनेश समूहका लागि प्लस प्वान्टजस्तो देखिएको थियो । तर अन्तिम समयमा आएर लोकतान्त्रिक एक ढिक्का भएपछि निर्वाचनको परिणाम कसको पक्षमा जान्छ अहिले नै भन्न हतार हुनेछ ।

यी हुन् उम्मेदवार
समावेशी समूहमा दिनेश पोखरेलले नेतृत्व गरेका छन् । उनको समूहमा महासचिव सन्तोष दाहाल, सचिव उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कविल पाण्डे, युवा संयोजक विनोद पौडेल रहेका छन् भने अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यहरुमा चोलाकान्त भुसाल, समिम अन्वर, राजु मानन्धर, शम्भु कँडेल, निराजन गौली र अशोक केसी रहेका छन् ।

रुपान्तरणको नारा दिएको केशव कँडेलको समूहमा महासचिव डा. ज्ञानेन्द्र रेग्मी, सचिव परेश घिमिरे, कोषाध्यक्ष अनिल पोखरेल र युवा संयोजकमा इर्शाद अहमद रहेका छन् । उनको समूहबाट अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यहरुमा छवि सापकोटा, अरुणकुमार ठाकुर, दिपक शर्मा, राजु अधिकारी, सूर्य आचार्य, सन्तोष कँवर र नारायण काफ्ले उम्मेदवार रहेका छन् ।

पोखरेल समूहबाट न्यू साउथ वेल्समा देव गुरुङ, साथ अस्ट्रेलियाबाट रेणुका लामा, क्विन्सल्यान्डमा धीरेन्द्र थापा, भिक्टोरियामा महेन्द्र कार्की र वेस्टर्न अस्ट्रेलियामा कृष्णमान श्रेष्ठले नेतृत्व गर्नेछन् । कँडेल समूहबाट न्यूसाउथ वेल्स डिला खरेल, साउथ अस्ट्रेलिया नवीन पन्त, क्विन्सल्यान्ड उमेश खड्का, भिक्टोरियाबाट प्रेम कँडेल र अस्ट्रेलियान क्यापिटल टेरिटरीबाट चुडामनी सापकोटाले नेतृत्व गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *