नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न विज्ञ समूह

nepal indiaकाठमाडौँ- सरकारले नेपाल–भारत सम्बन्धका समग्र पक्षमा विचार विमर्श गरी दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न नेपालका तर्फबाट विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

विसं. २०५१ साउनमा काठमाडौँमा सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दुई देशबीच रहीआएको सम्बन्धलाई थप विस्तार एवम् गहन तुल्याउनका लागि सुझाव दिन दुई वर्षको कार्यकाल रहनेगरी सो समिति गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतम र सांसद डा राजन भट्टराईलाई नेपालका तर्फबाट मनोनयन गर्ने सम्बन्धमा बैठकमा छलफल भएको सञ्चारमन्त्री राईले बताउनुभयो ।

ती नामका सम्बन्धमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय हुने बताइएको छ ।