कोरिया पठाउने भन्दै ठगी, पानीजहाज परिचयपत्र नै नक्कली

काठमाडौं, ५ चैत, । दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम गर्न पठाइदिने भन्दै ठगी गरेका दलालहरूले कामदारको सिमेन रेकर्ड बुक (जहाजमा काम गर्दा बोक्नुपर्ने परिचयपत्र) नै नक्कली बनाएको भेटिएको छ। पानीजहाजमा काम गर्ने कामदारले सिमेन रेकर्ड बुक अनिवार्य बोक्नुपर्छ। नयाँ बानेश्वरस्थित युनाइटेड एचआर कन्सल्ट्यान्सी एन्ड ट्रेनिङ सेन्टरले ३७ जना कामदारलाई दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काममा लगाइदिने भन्दै सिमेन बुकसहित ओके टु बोर्ड पनि नक्कली बनाइदिएको हो।

अनअराइभल भिसा सुविधा भएका देशमामात्र ओके टु बोर्ड प्रयोग गरिन्छ। ओके टु बोर्ड सम्बन्धित पानीजहाज कम्पनीले भिसा प्रयोजनका लागि पठाउने पत्र हो। सिंगापुरको पानीजहाज कम्पनीमा जाने कामदारले ओके टु बोर्ड लिएर गएपछि अनअराइभल भिसा पाउँछन्। सम्बन्धित मुलुकको दूतावास नभएपछि अनअराइभल भिसा प्रयोजनका लागि ओके टु बोर्डको प्रयोग गरिने गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

नेपालबाट दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम गर्न जाँदा ‘ओके टु बोर्ड’ आवश्यक पर्दैन। नेपालस्थित दक्षिण कोरियाली दूतावासले सम्बन्धित कामदारलाई भिसा दिएको हुन्छ। उक्त कन्सल्ट्यान्सीले प्रत्येक कामदारलाई बेलिज कम्पनीको सिमेन बुक दिएको छ। कामदारलाई दिएको सिमेन बुक बेलिज कम्पनीले जारी गर्नेजस्तै छ। तर यसमा राखिएको कामदारको फोटो र लगाइएको छाप बांगो छ। नेपालका कुनै पनि कम्पनीले सिमेन बुक जारी गर्ने अनुमति पाएको छैन। सिमेन बुक पाउन कामदारले कम्तीमा दुई साताको तालिम अनिवार्य लिनुर्छ। तर ठगिएका कामदारलाई सिमेन बुक दिए पनि उनीहरूलाई कुनै पनि प्रकारका तालिम दिइएको छैन। पानीजहाजमा काम गर्न जानेहरूले भारतमा गएर मात्र तालिम लिने गरेका छन्।

कोरिया पठाउने बहानामा ठगिएकामध्येका एक दीपेन्द्र पोख्रेलले भने, ‘उक्त कन्सल्ट्यान्सीले तालिमका लागि कतै जान सुझाएन।’ वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले उक्त कन्सल्ट्यान्सीले पेस गरेको नक्कली सिमेन बुक र ओके टु बोर्डका आधारमा ३७ जनालाई व्यक्तिगत श्रम स्वीकृति दिएको थियो। ती युवालाई विभागका कर्मचारीसँगको मिलेमतोमा नक्कली कागज बनाएर उक्त कन्सल्ट्यान्सीका शारदाकुमार मगर, प्रकाश तिवारी, दानबहादुर पुन र अप्सरा श्रेष्ठले ठगेका हुन्।