विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कार्यान्वयन गर्नु सत्तापक्ष र प्रतिपक्षको मुख्य जिम्मेवारी रहेकाले यसका लागि सबै दल मिलेर कार्य गर्नुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सबै पार्टी राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने र कुनै पनि दललाई संविधान कार्यान्वयनको विषयमा व्यवधान खडा नगर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस सरकारमा सहभागी नभए पनि मुलुक र समाजलाई अगाडि बढाउने कार्यमा सहमतिका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
वर्तमान सरकार मुलुक बनाउने सङ्कल्पका साथ अघि बढिरहेकाले अब आउने बजेट समृद्धिको बजेट हुने भन्दै प्रधानमन्त्रीले अबको बजेट विगतको जस्तो परम्परागत नभई जनताले सम्झनेखालको समग्र मुलुकको विकासका पक्षमा हुने जानकारी गराउनुभयो ।
मधेसको सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले मधेसको समस्या वार्ता र छलफलबाट समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउँदै उहाँले द्वन्द्व र भिडन्तबाट सहमति कायम नहुने भएकाले मधेसी मोर्चालाई पनि सहमतिबाट समस्याको समाधान खोज्न सुझाव दिनुभयो ।
उहाँले सीमाङ्कनको विषय टुङ्ग्याउन राजनीतिक समिति गठन गरेर सरकारले त्यसको संयोजकसमेत तोकिसकेकाले समितिलाई पूर्णता दिन मोर्चालाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको समस्या समाधान गर्नका लागि सरकारले चाँडै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिनुभयो ।






