काठमाडौं- नेपालको पहिलो एयरलाइन्स नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाकालको ६० औं वर्ष पूरा गरेको छ । सोही अवसरमा निगमले सोमबार राजधानीमा एक विशेष समारोहको आयोजना गरेको छ।
समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे । “वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?” प्रधानमन्त्री ओलीले भने “यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन । ”
प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बताएका छन् । आकाशमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि ” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ”
निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको पनि प्रधानमन्त्रीले बताए ।
“गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ” प्रधानमन्त्री ओलीले भने, “यस प्रकारका निर्णयले निगम धरासायी हँुदै गएको हो । ” प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिए ।
देशकै पुरानो र एतिहासिक एयरलाइन्सको रुपमा रहेको नेपाल वायुसेवा निगम एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो । जुन सन् १९५८ जुलाई एकमा शाही नेपाल बायुसेवा निगम रूपमा स्थापना भएको थियो । पछि मुलुकमा गणतन्त्रको स्थापना पश्चात नाम परिवर्तन गरि नेपाल वायुसेवा निगम नामाकरण गरिएको हो ।
अन्तराष्ट्रिय क्षेत्रमा ५ देशका ७ गन्तब्य स्थानमा उडान भर्ने पहिलो नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमले हाल ४४ आन्तरिक र २२ बाह्य गरि ६६ गन्तव्य स्थानहरुमा उडान भर्दै आएको छ ।
निगम आजसम्म आइपुग्दा प्रगतिको साटो घाटामा रहेको छ । कार्यक्रममार्फत् निगम ३७ अर्ब ऋणमा रहेको जानकारी गराइयो । निगमका उपनिर्देक तथा ६१औं वार्षिककोत्सव समारोह समितिका संयोजक गणेश बहादुर चन्दले नयाँ विमान खरिद तथा मर्मत लगायत विविध कारणले निगमलाई ३७ अर्ब ऋण लागेको बताए ।
यसै अबसरमा चन्दले नेपाल वायु सेवा निगम सरकारी संस्था भएकाले सो ऋण तिर्न सरकारले सहयोग गर्नु पर्ने बताए ।






