अमेरिकाको दबाबलाई बेवास्ता गर्दै भारतले रुससँग एन्टी–ट्याङ्क मिसाइल किन्यो

एजेन्सी- भारतले रुसबाट एन्टी–ट्याङ्क मिसाइल ‘स्ट्रम अटाका’ किन्ने भएको छ । यसका लागि दुई देशले २ अर्ब भारुको सम्झौता गरेका छन् । मिसाइललाई भारतको सैनिक हेलिकप्टर एमआई–३५मा जडान गरिनेछ ।

भारतीय मिडियाले त्यहाँको सरकारी स्रोतलाई उद्धृत गर्दै आपतकालिन नियम अन्तर्गत रुसबाट एन्टी–ट्याङ्क मिसाइलको सम्झौता भएको बताएको छ ।

अब रुसी कम्पनीले सम्झौताको तीन मिहना भित्र मिसाइलको आपुर्ति गर्नुपर्नेछ । एमआई–३५ मा जडान हुने एन्टी–ट्याङ्क मिसाइलले लडाईको समयमा भारतका प्रतिद्वन्दी सेनाका तोप र अन्य सैन्य वाहनलाई निसाना लगाउनेछन् ।

एमआई–३५ भारतीय वायुसेनाको ‘एट्याकिङ हेलिकप्टर’ हो । यसलाई अमेरिकाको अपाचेको हाराहारी मानिन्छ । भारत लामो समयदेखि रुसको मिसाइल किन्न चाहँदा– चाहँदै पनि यो एक दशकदेखि रोकिरहेको थियो ।

भारतीय मिडियाका अनुसार तत्काल युद्ध हुने अवस्थालाई मध्य–नजर राखेर आपतकालिन प्रावधान अन्तर्गत भारतीय वायु सेनाले कयैन देशसँग स्पाइस २००० स्ट्याण्ड एण्ड वेपन सिस्टम र कयैन मिसाइल सम्झौता गरेको छ ।

भारतीय सेना फ्रान्ससँग पनि एन्टी–ट्याङ्क मिसाइल किन्ने प्रक्रियामा छ । त्यस अतिरिक्त रुसबाट एयर डिफेन्स मिसाइल तत्कालै किनिनेछ ।

फेब्रुअरी १४मा भएको पुलवामा आक्रमण लगतै पछि भारतीय सेनाको तीनै विभागलाई आपतकालिन शक्ति दिइएको थियो । यस अन्तर्गत त्यहाँको सेनाले आफ्नो आवश्यकता हेरेर ३ अर्बसम्मको हतियार खरिद गर्न सक्छन् ।

तर अमेरिकाले विगतदेखि भारतलाई रुससँग सामरिक महत्त्वका हतियार नकिन्न सतर्क गराउँदै आएको छ । यसका बावजुद यो नयाँ सम्झौता भएको हो ।

भारतले विगतमा रुससँग एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली किन्ने कुरा गरिरहँदा अमेरिकाले त्यसको ठूलो असन्तुष्टि व्यक्त गरेको थियो ।

हालै भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उक्त सम्झौता रद्द गर्न मनाउने कोसिस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *