शिब भण्डारी
लन्डन । बेलायतमा नेपालीले व्यवसायीले सञ्चालन गरेको पोष्ट अफिस (हुलाक सेवा) को औपचारिक उद्घाटन भएको छ । एनआरएन अभियान्ता तथा युवा उद्यमी कृष्ण तिवारीको स्वामित्वमा रहेको उक्त पोष्ट अफिसको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गरेका हुन् । राजदूत डा. सुवेदीले अफिसको रिबन- केक काटेर औपचारिक सुरुवात गरेका थिए । व्यवसायी तिवारीलाई राजदूत सुवेदीले सफलताको शुभकामना दिए । उनले भने, ‘विदेशमा नेपाली व्यवसायीले पोष्ट अफिस खोलेर सञ्चालन गर्नु आफैमा महत्वपूर्ण हो । नेपालीको यस्तो प्रगति देख्दा मलाई खुशी लाग्छ ।’औपचारिक उद्घाटन समारोहमा नेपाली दूतावासका द्धितिय सचिव लब सुवेदीले कार्यकक्षमा बधाई तथा शुभकामना दिए । 

पोष्ट अफिस विगत एक वर्षअघिदेखि सञ्चालनमा थियो, यद्यपि औपचारिक उद्घाटन भएको थिएन । रेनर्सलेन पोष्ट अफिस ‘मेन’ तिवारीले एक वर्षअघि १ लाख ९२ हजारमा किनेका हुन् । ८८ वटा विभिन्न सेवा प्रदान गर्ने पोष्ट अफिस ‘मेन’ बेलायतमा नेपालीले किनेकामध्ये पहिलो भएको व्यवसायी तिवारीले बताए । सानो स्केलमा पोष्ट अफिस (लोकल) सञ्चालन गर्ने बेलायतमा तीन जनामात्र नेपाली रहेको बताइएको छ ।
पोष्ट अफिसबाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिने सञ्चालक तिवारी बताउँछन् । ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार (एकाउन्ट खोल्न, डिपोजिट÷सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न क्रेडिट कार्ड लिन, मोर्गेज) आदि सेवा उपलब्ध भएको तिवारीले लन्डन नेपाल न्यूजलाई बताए ।





त्यसैगरी ट्राभलअन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस रेल, डिस्काउन्ट पास आदि मोबाइल मर्मत सेबा समेत उपलब्ध छन् । इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत उपलब्ध भएको व्यवसायी तिवारीले बताए ।

नेपाली समुदायको ठूलै जमघट रहेको पोष्ट अफिस उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले व्यवसायी तिवारीलाई शुभकामना दिए । नेपाली उद्यमीले प्रवासमा सफलता पाउँदै गर्दा अरुलाई पनि पे्ररणा हुन उपाध्यक्ष आचार्यले बताए । कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी लगायत अन्य सहभागी हरुले उद्यमी तिवारीलाई शुभकामना दिएका थिए ।
औपचारिक उद्घाटन समारोहमा पुगेकी समाजसेबी एबम व्यवसायी सरस्वति केशीले तिवारी परिवारको यो पोष्ट अफिस व्यवसायको सफलताको कामना गर्दै नेपाली समुदायमा थप हौसल्ला र उत्साह थपिएको बताइन ।
कार्यक्रममा सालको पातका टपरी हुने गीतका गायक कुलेन्द्र विकले कार्यक्रमलाई सांगीतिक माहोलमा परिणात गरिदिएका थिए ।






