काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् ।
उनले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’
उनले प्रश्न गरेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’
यसअघि सत्तारुढ दल नेकपाका नेता भीमबहादुर रावल र रामकुमारी झाँक्रीले पनि ल्यापटप वितरणको विरोध गरेका थिए ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिनका लागि प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।






