प्रधानमन्त्री ओली लण्डनमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुगेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरे । प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी टेरिजा मे सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट गर्ने कार्यक्रम छ ।

यसैबीच प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगेलगत्तै हेलिकोप्टरमार्फत बेलायतस्थित अक्सफोर्ड पुगेका हुन् । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *