प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन (भिडियो सहित)

शिब भण्डारी

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बेलुका बेलायतको अक्सफोर्डमा प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गरेका छन् ।

साताव्यापी युरोप  भ्रमणका क्रममा बेलायत आएका प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका हुन् ।

बेलायतकी प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा २० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबार बेलुका लण्डन आइपुगेका हुन् ।

लण्डनको हिथ्रो विमानस्थलमा प्रधानमन्त्रीलाई बेलायती रक्षा राज्य मन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

स्वीजरल्याण्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिएर उनी सिधै बेलायत आएका छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य , परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायत छन् । लण्डन उत्रिएको डेढ घण्टामैै अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्नको लागि प्रधानमन्त्री हेलिकोप्टर चढेर अक्सफोर्ड पुगेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा बोलेका थिए ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि गरी करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे पनि सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मेसहित विभिन्न पार्टीका बेलायती सांसदसंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, नेकपा कार्यकर्ता लगायतका नेपाली समुदायका अगुवालाई पनि भेट्नेछन् । बुधबार बिहान लण्डनस्थित नेपाली दूतावासमा आयोजना हुने रिसेप्सनमा भाग लिएपछि बेलायत भ्रमण सकेर प्रधानमन्त्री फ्रान्सतर्फ जाने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *