संगठन विभागको जिम्मेवारी मेरो निम्ति उपयुक्त हुन्छः गौतम

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले संगठन विभागको जिम्मेवारी आफ्नो लागि उपयुक्त हुने बताएका छन् ।
नेता गौतमले पार्टी नेतृत्वले आफूलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिन उपयुक्त ठाने त्यो भूमिका राम्रोसँग निर्वाह गर्ने बताए ।

‘पार्टी संगठनमा अहिले भएका नेताहरुमध्ये म जत्तिको पुरानो कोही छैन । म जस्तै अध्ययन दलबाट संगठित भएर पार्टी सेल, एरिया, जिल्ला, अञ्चल, क्षेत्र, केन्द्रीय कमिटी, वैकल्पिक सदस्य र पूर्ण सदस्य हुँदै यहाँसम्म आइसकेको अनुभव ममा छ, नेता गौतमले भने, ‘यस्तो अनुभवि थोरै नेताहरु हुनुहुन्छ । त्यसभित्र म पनि पर्छु । त्यसअर्थमा संगठन विभाग प्रमुखको जिम्मेवारी नेतृत्वले मलाई दिन उपयुक्त ठाने त्यो जिम्मेवारी राम्रोसँग पूरा गर्छु ।’

बाहिर मिडियामा आएजस्तो अहिलेसम्म औपचारिक रुपमा पार्टी बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँडबारे कुनै छलफल नभएको भन्दै नेता गौतमले आज (मंगलबार) को बैठकमा कार्यविभाजनबारे छलफल हुन सक्ने बताए ।

नेता गौतमले नेतृत्वले संगठन विभाग प्रमुखको जिम्मेवारी दिन आफूलाई उपयुक्त ठाने पार्टी संगठनलाई एकढिक्का बनाएर प्रत्येक व्यक्तिमा श्रमजिवि अवधारण विकास गर्ने बताए ।

‘साथीहरुलाई उर्जाशील पार्ने, सक्रिय बनाउने र उहाँहरु क्षमता विकास, नेतृत्व गर्ने कुरामा मैले विशेष ध्यान दिन्छु, यसमा मेरो अनुभव पनि छ । पार्टीमा योग्यतम व्यक्तिहरु को को छन्, उनीहरुको संरक्षण कसरी गर्नुपर्छ त्यो विधि सम्मत ढंगले गर्छु, नेता गौतमले भने, ‘वर्गचरित्र निर्माण गर्ने, वर्गचरित्र बदल्ने र प्रत्येक व्यक्तिमा श्रमजिवि वर्गिय अवधारण विकास गर्ने सम्बन्धमा मेरो अनुभव छ । त्यसकारणले मलाई जिम्मेवारी दिनुहुन्छ कि भन्ने लागेको छ ।’

तर नेता गौतमले नेतृत्वले आफूलाई संगठन विभागको जिम्मेवारी दिन उपयुक्त ठानेन भनेपनि आफ्नो दावी भने नरहने बताए ।

‘उहाँहरुले मलाई यो जिम्मेवारी दिन्न भन्नु भयो भने पनि मेरो दावी हुन्न । संगठन विभागको जिम्मेवारीमा ज्यादै महत्वपुर्ण काम हुन्छ । र धेरै व्यस्त हुनुपर्छ । कार्यकर्ताको दिल छोएर काम गर्नुपर्छ, उनले भने, ‘हरेक व्यक्तिले आफुँलाई श्रमजिवि बनाउने र वैचारिक साँस्कृतिक रुपले रुपमान्तरण गर्ने । साँच्चिकै कम्युनिष्ट दर्शनमा आधारित भएर राजनीतिक विश्लेषण गर्न सक्ने हुने किसिमको बनाउने हुनुपर्छ । यो दिशानिर्देशन गर्नको निम्ति संगठन विभागको प्रमुख हुने व्यक्ति त्यत्तिकै अनुभवि हुन जरुरी छ । त्यतिकै पार्टी बुझेको, पार्टी पढेको हुन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *