राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच भेट

काठमाडौँ, ९ चैत । राष्ट्रपति डा रामवरण यादवसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज बिहान राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । भेटमा राष्ट्रपति डा यादवले समयमै सहमतिमा संविधान जारी हुनुपर्ने बताउँदै त्यसका लागि विगतको आन्दोलनकारी दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष दाहालले सहमतिमै संविधान जारी हुने अवगत गराउँदै त्यसका लागि सत्तारूढ दलहरुसँग पहल गरिरहेको बताउनुभएको उहाँका स्वकीय सचिव चुडामणि खड्काले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति यादव र अध्यक्ष दाहालबीच संविधान निर्माणबाहेक दुवैको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको स्वकीय सचिव खड्काले बताउनुभयो । राष्ट्रपति यादव र अध्यक्ष दाहाल दुवैले यसै साता चीनको भ्रमण गर्दै हुनुहुन्छ ।