लन्डन- नयाँ वर्षका अवसरमा बेलायतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन हास्य कलाकारद्वय दमन रुपाखेती र शिवशंकर रिजाल जोगिन्दर पानवाला लन्डन आएका छन् ।

लन्डन र स्कटल्याण्डमा हुने नयाँ वर्ष धमाका हास्यब्यंग्य कार्यक्रमका लागि रुपाखेती र रिजाल बेलायत आएका हुन् । हिथ्रो विमानस्थलको टर्मिनल ४ मा उत्रिएलगत्तै दुवै कलाकारले बेलायतमा विल्कुलै नौलो र फरक प्रस्तुतिका साथ आएको बताएका छन् ।

कार्यक्रममा सहभागी हुन कलाकारद्वयले लन्डन नेपाल न्यूज डट कममार्फत बेलायतबासी नेपालीलाई अपिल गरेका छन् ।

रुपाखेती दोस्रोपटक बेलायत आएका हुन् भने जोगिन्दरको पहिलो बेलायत आगमन हो ।

कलाकारिताको क्षेत्रमा २८ वर्ष बिताइसकेका दमन विश्वका धेरै मुलुकहरु पुगेर कार्यक्रम देखाइसकेका छन् ।

धुर्मुस–सुन्तली, माग्नेबूढा जस्ता मेरी बास्सैका अत्यन्त चर्चित कलाकारलाई जन्मदिने दमन रुपाखेतीले जोगिन्दरका साथ उत्कृष्ट प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

६ कक्षामा पढ्ने बेलादेखि नै बाल नाटकहरुबाट कलाकारिता सुरु गरेका दमनले मेरी बास्सैबाट बाहिरिएपछि झयाइकुटी झ्याई, हाकाहाकीलगायतका श्रृंखलामा अभिनय गरेका छन् । उनले झण्डै ४० वटा नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।

हिमालयन टेलिभिजनमा टक सो ‘जोगिन्दरको पान पसल’ बाट चर्चित बनेका रिजालले पनि थुप्रै फिल्म, रियालिटी शो र सर्ट फिल्ममा अभिनय गरेका छन् ।

फेसबुक कमेन्ट