नेपाल डिजिटल यात्रामा अगाडि बढ्यो: मन्त्री बाँस्कोटा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।

उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।’

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताए। मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उनले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गरे ।

उनले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराए । ‘समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको उल्लेख गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।

विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत सो कम्पनीले नेपालमा सन् १९९९ देखि कार्यरत छ । कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । सम्मेलन चार दिनसम्म रहने छ । नेपालस्थित हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल इकोनोमिमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *