काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्तीले सो आयोजनामा २ हजार कित्ता सेयरका लागि आवेदन दिएका छन् ।
यो आवेदन सर्वसाधारणका लागि आगामी चैत्र ११ गतेसम्म जारी रहेनछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफै बनाउने अभियान अन्तरगत जलविद्युतमा जनताको स–साना पूँजी संकलन गरेर ठूल्ठूला काम गर्न सकिन्छ भन्ने विश्वासका सो कार्यक्रम सुरु गरिएको स्पष्ट पारे ।
उनले अभियानलाई सफल बनाई छाडने संकल्प गर्दै त्यसमा लगानी गर्न देशभित्र र बाहिरका सबै नेपालीलाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले नेपाल उर्जाको धनी देश भएको उल्लेख गर्दै पानीको सदुपयोग गरेर सम्पन्न हुन पनि सो नयाँ अभियानको सुरु गरिएको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो अभियानलाई संचालनमा ल्याएको दावी गरे ।
उनले सरकारले कृषि, पर्यटन लगायतको क्षेत्रमा पनि स–साना पूँजी परिचालन गरेर राष्ट्र निर्माण गर्ने विभिन्न अभियान संचालन गर्ने योजना अघि सारे ।
भूतपूर्व शिक्षक, भूतपूर्व प्रहरी, भूतपूर्व सेनाहरुले पनि जल विद्युत आयोजनामा संगठित रुपमा लगानी गर्न सक्ने अवसर सरकारले प्रदान गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ घोषणा गरिएको सो कार्यक्रमबाट जलविद्युतमा करिव ७ खरव रुपैयाँ स्वदेशी लगानी जुटाउने सरकारको लक्ष्य छ । त्यसका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले हाललाई ३ हजार ४ सय ७९ मेघावाट क्षमताका १९ वटा जलविद्युत आयोजना छनौट गरेको छ । मन्त्रालयले सो कार्यक्रमका लागि यस अघि नै कार्यविधि बनाई सकेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तरगत पहिलो पटक माथिल्लो त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर आह्वान गरिएको हो ।
गत चैत्र १ गते सार्वजनिक सूचना जारी गरी माथिल्लो त्रिशुली जलविद्युत कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि आज (बिहीबार)बाट आवेदन लिने कामको शुभारम्भ भएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो अभियानलाई नयाँ अभ्यासको रुपमा चित्रण गर्दै यस अभियानले स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिने पनि स्पष्ट पारे ।






