काठमाडौं, चैत ४ – बलिउडमा बार्बी गर्लको नामले चर्चित अभिनेत्री कट्रिना कैफको जतिबेला चर्चा हुन्छ, अभिनेता रणबीर कपुरको पनि चर्चा भइहाल्छ । सबैलाई थाहा छ कि यी दुई लिभ–इन रिलेसनमा बसिरहेका छन् । तर यहाँ तपाईंहरुको जानकारीको लागि एउटा खबर छ ।
कट्रिना अब दबंग खान अर्थात सलमानसँग एउटै छत मुनी बस्नेछिन् । यो भनिसक्दा तपाईंमध्ये धेरैले भिन्न प्रकारले बुझ्नुभयो होला तर यहाँ विषय अर्को छ । वास्तवमा कट्रिना कैफ निकै चर्चित वाक्स म्युजियम ‘म्याडम तुसाद’ मा देखापर्ने भएकी छिन् ।
यो म्युजियममा पहिले नै सलमान खानसमेत अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय बच्चन, माधुरी दिक्षित, सचिन तेन्दुल्कर, करिना कपुर र ऋतिक रोशनको मूर्ती रहेको छ । यहाँ सलमान र कट्रिनाको मूर्ती एउटै छतमुनी हुनेछ तर उनीहरुबिच केहि कुराकानी भने हुनेछैन ।
कट्रिनाको लागि यो संग्रहालयमा आफ्नो मूर्ती बन्नु भनेको विशेष हो किनभने कट्रिना लण्डनमा नै पढेकी र बढेकी हुन् । आउँदो मार्च २७ मार्चमा कट्रिना कैफ म्याडम तुसादको हिस्सा बन्नेछिन् । म्याडम तुसादको लागि पनि कट्रिनाको मूर्ती विशेष हुनेछ किनभने उनी डान्सिङ पोजमा हुनेछिन् । जबकी धेरैजसो सेलिब्रिटीको मूर्ती उभिएको अवस्थामा रहेको छ ।
स्रोतः इन्डिया टिभी






