काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितहरुको राहत तथा उद्दारमा कुनै कमी हुन नदिन स्थानीय निकायहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार सप्तरीको तिरहुत गाउँपालिका ५ स्थिति भेदियमा बाढीको क्षति अवलोकन गर्न गृहमन्त्री जर्नादन शर्मासँग पुगेका प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् ।
गत १६ गते राती मौली खोलीमा आएको बाढीबाट त्यस क्षेत्रका ३५ घर विस्थापित भएका छन् भने १२५ घर प्रभावित भएका छन् ।
प्रधानमन्त्रीले त्यहाँका स्थानीयलाई तत्काल राहत उपलब्ध गराउने र उद्दारमा सेना–प्रहरीको टोलीलाई निर्देशन दिएको आश्वासन दिए । त्यस्तै, त्यस क्षेत्रमा तत्काल बाँध पनि निर्माण गरिने बताए ।
बाढी पीडितहरुलाई जस्ता किन्न १५ हजार तथा टहरा बनाउन १० हजार गरी २५ हजार राहतस्वरुप तत्काल प्रदान गरिने घोषणा प्रधानमन्त्री देउवाले गरे । उनले क्याबिनेटबाट यसलाई पास गरेर तुरुन्त लागु गरिने बताए ।
त्यस्तै गृहमन्त्री शर्माले विपद्को घडीमा गृहमन्त्रालय बाढीपीडितको साथमा रहेको भन्दै उनीहरुको खानेकुरा र बासको व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताए ।
उनले प्राकृतिक विपद भएकाले यसको व्यवस्थापन गर्न दीर्घकालिन योजना बनाएर वस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
‘बाढी आएकै ठाउँमा घर बनाएर समस्या समाधान हुन्न,’ उनले भने, ‘स्थानीय सरकारसँग समन्वय गरेर वस्तीको वैज्ञानिक व्यवस्थापन गरिनुपर्छ ।’
मन्त्री शर्माले प्रअिजलाई एक एक दिन बाढी प्रभावित क्षेत्रमा बस्न निर्देशन दिएको पनि जानकारी दिए ।






