लण्डन । गैर आवासिय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद्का अध्यक्ष मोहन कार्कीको पहल र समन्वयमा स्थानीय फलक्रिक काउन्सिल संगको साझेदारीमा फोर्थ भ्याली नेप्लिज एसोसियसन गठन भएको छ।
एसोसियसनको अध्यक्षमा एनआरएन स्कटल्याण्डका अध्यक्ष मोहन कार्की, सचिवमा चन्द्र कश्यप, कोषध्यक्षमा कमला ग्रीन र सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र संजय खड्का रहनु भएको छ।
समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर्ड र सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिसको उपस्थिति रहेको थियो।
समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसियसनले कार्यहरु गर्ने बताउनु भयो। स्थानीय काउन्सिलको साझेदारको रुपमा रहेर नेपाली समाज गठन हुनु नौलो कुरा रहेको र समितिलाई काउन्सिलले फन्डिंग गर्न शुरु गरिसकेको बताउनु भयो।
अध्यक्ष मोहन कार्कीले नेपाली हिन्दु मन्दिरको लागि काउन्सिललाई आग्रह गरेको र काउन्सिलले चाडै भवन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको बताउनु भयो। काउन्सिलले तत्काल नेपाली समाजलाई बाताबरण मैत्री बनाउन साइकलहरु बितरण गर्ने, बाताबरण मैत्री कार ड्राइभिङ्गको तालिम दिने बताउनु भयो।
यस्तै सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डसंगको साझेदारीमा हेट क्राइम र डिसक्रिमिनेसन तालिम चाडै शुरु गरिने बताउनु भयो। बेलायतमा रहेका नेपाली समाजहरुले पनि स्थानीय काउन्सिल संगको साझेदारीमा कार्यहरु गरे प्रभावकारी हुने अध्यक्ष कार्कीले बताउनु भयो।






