काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा अगजानी गरिएको विषयमा विभिन्न टिकाटिप्पणी भएको छ । सरकारी गाडीको विदाका दिनमा पनि व्यापक दुरुपयोग भएको भन्दै नेविसंघले हिजो देशव्यापी रुपमा सरकारी गाडी सञ्चालनमा रोक लगाएको थियो ।
सोही क्रममा नेविसंघले आफ्नो आह्वानलाई अवज्ञा गर्ने सरकारी गाडीको चाबी नियन्त्रणमा लिनुका साथै आगजनी गरेको स्वीकार गरेको छ । पोखरा, काठमाडौँ, बाँके र डोटीलगायतका क्षेत्रमा सरकारी गाडीमाथि तोडफोडका साथै आगजनी गरेको हो । यस्तै विभिन्न ठाउँबाट करिब ७ सय सरकारी गाडीको चाबी नियन्त्रणमा लिएको थियो ।
जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक नेविसंघको आलोचनासमेत भएको छ । नेविसंघको शनिबारको गतिविधिको आइतबार काँग्रेस नेता गगन थापाले विरोध जनाएको छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ । किन्तु, परन्तु केही नलगाई मेरो उत्तर ः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई निरुत्सहित गर्न म डटेर लाग्नेछु ।’
यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले भने पार्टीका नेताहरुले वास्तविकता नबुझेर टिप्पणी गरेको बताएका छन् । उनले सरकारी गाडीको दुरुपयोग रोक्ने कार्यमा आफूहरुमाथि गाडी चालकले प्रतिवाद गर्न खोज्दा तोडफोड र आगजनी हुन पुगेको दाबी गरे ।






