लण्डन । बेलायतमा एक अर्को नेपाली चलचित्र चल्ने भएको छ । बेलायतमै ‘सुटिङ’ भएको चलचित्र एटीन ह्यारोस्थित सफारी सिनेमा हलमा चल्ने भएको हो । बेलायतबाट निर्मित नेपाली चलचित्र एटीन सार्वजनीक गर्दै निर्माण पक्षले सो जानकारी गराएको हो ।
निर्माण पक्षले चलचित्रको अफिसियल ट्रेलर र पोष्टर सार्वजनिकसमेत गरेको छ । चलचित्रलाई फेब्रुअरी २४ मा ह्यारोस्थित सफारी सिनेमा घरमा सम्पूर्ण कलाकारसहित भव्य प्रिमियर गराउने योजना रहेको सो फिल्म अभीनय गरेका सनम कुमार वैरागले लन्डन नेपाल न्यूज डटकमका लागि शिव भण्डारीलाई जानकारी गराए ।
चलचित्र निर्देशक बैराग एक नेपाली सशक्त रंगकर्मी तथा अभिनेता नाटककार हुन । प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् । सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी यतै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाउन खोजिएको निर्देशक लामाले बताए ।
तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र एटीन मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, सनम कुमार वैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ । प्रसुना कडेल बेलायती समुदायमा नर्सिग एशोसियन यूकेको पूर्व अध्यक्षसमेत भइसकेकी छिन्।
त्यस्तै संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल .एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ ।






