एजेन्सी- बेलायती प्रधानमन्त्री टेरिजा मेले गत वर्ष नोभेम्बरमा युरोपेली संघसँग भएको ब्रेक्टिज सम्झौतामा पुनः वार्ता गर्ने योजनाका लागि संसदको समर्थन पाएकी छिन् ।
कन्जरभेटिव पार्टीका सांसद ग्राहम बेडीको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्रीको समर्थनमा १६ भोट धेरै खस्यो ।
ब्रिटेनको युरोपेली संघबाट अलग हुने दिन नजिकिँदै छ तर अलग हुनका लागि अहिले कुनै स्पष्ट बाटो देखिएको छैन ।
प्रधानमन्त्री टेरिजा मे को मूल सम्झौता संसदमा पारित हुन सकेको थिएन । यद्यपी, उनी लेबर पार्टीले ल्याएको अविश्वासको प्रस्ताव भने जितेकी थिइन् ।
टेरिजा मेले सांसदसँग आफूलाई युरोपेली संघसँग पुनः सम्झौता गर्ने मौका दिइयोस् भनेर अपिल गरेकी थिइन् । अब संसदले उनलाई यो मौका दिएको छ ।
बेलायती प्रधानमन्त्रीले आफ्नो सम्झौतामा विभिन्न संशोधनको प्रस्ताव सदनमा पेश गरिन् जसमा उनले सांसदको समर्थन पाइन् ।

युरोपेली संघ अड्डाः
टेरिजा मेले आफ्नो देशको संसदबाट पुनः कुराकानी गर्ने मंजुरी पाएपनि युरोपेली संघले आफू बेलायती प्रधानमन्त्रीसँग भएको सम्झौताको कानूनी भाषा परिवर्तन नगर्ने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री टेरिजाले युरोपेली संघसँग वार्तापछि उनको संशोधित सम्झौता चाँडै नै मतदानका लागि संसदको तल्लो सदनमा पेश गरिने बताएकी छिन् ।
संसदले सम्झौता बिना नै युरोपेली संघबाट अलग्गिने विरुद्ध ल्याइएको संशोधन पनि पारित गरेको छ ।
यद्यपी, यो अनिवार्य रुपमा लागू हुने छैन र युरोपेली संघबाट ब्रिटेन अलग हुने दिन अहिलेसम्म मार्च २९ नै तोकिएको छ ।
यसैबीच लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीलाई भेटेर नयाँ स्थितीमाथि चर्चा गर्ने बताएका छन् ।
ब्रिटेनको जनताले एक जनमत संग्रहमा युरोपेली संघबाट अलग्गिने निर्णय गरेका थिए ।
ब्रिटेन मार्चको अन्त्यसम्म युरोपेली संघबाट अलग्गिनुपर्नेछ । प्रधानमन्त्री टेरिजाको भने युरोपेली संघसँग सम्झौता गरेर मात्र ब्रिटेन अलग होस् भन्ने चाहना छ ।






