अमेरिकालगायत २० देशले समर्थन गरेका भेनेजुएलाका विपक्षी नेता गोइदमाथि यस्तो कारवाही

एजेन्सी- भेनेजुएलाका महाधिवक्ताले शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका छन् ।

मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले सर्वोच्च अदालतबाट ऐतिहासिक कदम उठाएर गोइदोलाई देश छोड्न प्रतिबन्ध लगाइनुपर्ने र उनको सम्पत्ति फ्रिज गरिदिनुपर्ने माग राखे ।

अमेरिकाले आफ्ना देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण गोइदोलाई दिएको बताएको केही दिनपछि भेनेजुएलाले यो कदम उठाएको हो ।

मादुरोप्रति झुकाव देखाइरहेको सर्वोच्च अदालतले महाधिवक्ताको मागको सम्बोधन गर्दै आदेश जारी गर्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकी बैंकमा भएका खाताको नियन्त्रण खुआन गोइदोलाई सुम्पिनुअघि अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसमाथि प्रतिबन्ध लगाउँदै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण स्विकार गर्न भनेका थियो ।

यो पूरा विवादमा भेनेजुएलाको सेना मादुरोलाई समर्थन गरिरहेको छ ।

गोइदोले गत हप्ता आफूलाई अन्तरिक राष्ट्रपति घोषित गरेका थिए । तत्पश्चात् भेनेजुएलामा सत्ता संघर्ष निकै चुलिएको छ ।

अमेरिकासमेत लगभग २० देशले गोइदोलाई राष्ट्रपतिको रुपमा मान्यता दिएको छ जबकी राष्ट्रपति निकोलस मादुरोले रुस र चीनसमेत केही अन्य देशका समर्थन पाएका छन् ।

यसै महिना राष्ट्रपति मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएका थिए । तर विपक्षीले भोटमा धाँधलीको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए ।

त्यसपछि विपक्षी नेता खुआन गोइदोको अपिलपछि भेनेजुएलामा व्यापक विरोध सुरु भएको थियो ।

संयुक्त राष्ट्रका अनुसार २१ जनवरीदेखि अहिलेसम्म कम्तीमा ४० को मृत्यु भइसकेको छ भने सयौं पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *