ब्रिटिस गोर्खा सैनिकहरुले विश्वभर नेपालीको पहिचान स्थापित गराउन सफल भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हालै बेलायतमा स्थापना भएको ब्रिटिस गोर्खा नेपाली परिषदको नेपाल च्याप्टर उद्घाटन कार्यक्रममा विहीबार दुई सयसम्म गोर्खा सैनिकले पुर्याएको योगदानलाई विश्वभर चर्चा हुने गरेको उनीहरुको भनाइ थियो ।
नेपालमा एकमात्र जीवित भिक्टोरिया क्रस विजयी क्याप्टेन रामबहादुर लिम्बुले गोर्खाली बन्नलाई कठोर संघर्ष गर्नुपर्ने भएकाले सबैले राष्ट्रको नाम उच्च राख्नलाई संघर्ष गर्न आग्रह गरे । उनले गोर्खा सैनिकहरुले पुर्याएको योगदानलाई राष्ट्रले उच्च सम्मान गर्नुपर्ने औंलाए ।
यस्तै, इतिहासविद तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले ब्रिटिस गोर्खा सैनिकहरुले विभेदकाबीच पनि बहादुरी देखाएकोप्रति प्रशंसा गरे । उनले जहाँ पुगे पनि गोर्खालीहरुको चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै सैनिकहरुमाथि हुने गरेको असमान व्यहारको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा वर्षेनीरुपमा प्रदान गर्ने गरी ब्रिटिस गोर्खा अवार्डको बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ संस्कृतीविद् तुलसी दिवसले नेपाल च्याप्टरको स्थापना गरेर यस्तो किसिमको अवार्ड प्रदान गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले ब्रिटिस गोर्खा सैनिकहरुले विश्वमा देखाएको बहादुरीको चर्चा गरे ।
प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले पूर्वगोर्खाहरु नेपालीहरुको पहिचान भएको उल्लेख गरे । उनले अवार्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाए । परिषदका उपाध्यक्ष तथा प्रवक्ता किरण टी लिम्बुले पाँच विधामा उत्कृष्ट स्रष्टा तथा प्रतिभाहरुलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिए ।
कलाकारिता, साहित्य, पत्रकारिता, संगीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च योगदान पुर्याउने नेपाली प्रतिभालाई अवार्ड प्रदान गरिने बताए । अवार्ड आगामी वर्ष देखि वर्षेनी प्रदान गरिने छ ।
परिषदले नेपाल च्याप्टरको संयोजकमा पूर्वमिस नेपाल सुविन लिम्बुलाई चयन गरेको छ ।
यस्तै, सहसंयोजकमा प्रविन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यहरुमा नृत्य निर्देशक गोविन्द राई, पत्रकार अशोकप्यासी राई, फोटो पत्रकार नवीन गुरुङ, साहित्यकार स्वप्नील स्मृति, प्रकृति थलङ, पत्रकार युवराज गौतम, ताराप्रकाश लिम्बु, मनोज नेम्बाङ र विमला भण्डारीलाई चयन गरेको छ । परिषदले आगामी डिसेम्बरमा लन्डनका १० ओटा स्थानमा ‘गोर्खा सांस्कृतिक साँझ’ आयोजना गर्ने जनाएको छ ।
गोर्खाली बन्नलाई कठोर संघर्ष






