गृहमन्त्रीलाई भेट्न पुगे मोर्चाका नेताहरु, ५२ जनालाई मात्रै सहिद घोषणा गरेको भन्दै असन्तुष्टि

काठमाडौं– मधेसी मोर्चाले आफूहरुले सिफारिस गरेको सबै ६८ जनालाई सरकारले सहिद घोषणा नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग मन्त्रालयमा भेट गरी सरकारले ५२ जनालाई मात्र सहिद घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
तर निधिले प्राप्त नाममा सरकारले आवश्यक अनुसन्धान गरी ५२ जनालाई सहीद घोषणा गरेको जवाफ दिएका थिए ।
भेटका क्रममा मोर्चाका नेताहरुले कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
मोर्चाको माग सम्बोधनका लागि क्याबिनेटबाट मृतकका परिवारलाई १० लाख दिने निर्णय भएपनि रकम निकाशा नभएको, संविधान संशोधनको प्रक्रियामा ढिलाई भएको, मोर्चाले सिफारिस गरेका सबैलाई सहिद घोषणा नगरिएको लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाल सद्भावना पार्टीका नेता रामनरेश राय यादवले बताए ।
मन्त्री निधिले भने मृतकका परिवार र घाइतेलाई दिने भनिएको रकम निकाशाको पहल भइरहेको भन्दै संविधान संशोधनका लागि पनि दलहरु र कानुनविद्सँग छलफल चलिरहेको र सबै मागको सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको यादवले बताए ।

निधिलाई भेट्न यादवका साथै सद्भावना पार्टीका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत मन्त्रालय पुगेका थिए ।