पेरिस – एन्टोनी ग्रिजमानको दुई गोलको मद्दतले जर्मनीलाई पराजित गर्दै आयोजक फ्रान्स युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती विश्वविजेता जमर्नी २–० ले पराजित बन्यो ।
प्रतियोगितामा गोल गर्ने फर्ममा रहेका ग्रिजमानले पहिलो हाफमो इन्जुरी समयमा पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए । कप्तान बास्टिन स्वाइन्सटाइगरले डि एरियामा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीलाई ग्रिजमानले जाली चुमाए ।
खेलमा सुरुदेखि नै जमर्नीले पकड बनाएपनि उसको एकपछि अर्को प्रहार विफल भएको थियो । खेलअवधि भर ६० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखे पनि जमर्नी गोल गर्नबाट चुक्यो ।
यसको फाइदा उठाउँदै खेल सकिन १८ मिनेट बाँकी छँदा ग्रिजमानले जर्मनीका गोलकिपर म्यानुअल न्युअरको गल्तीको फाइदा उठाउँदै फ्रान्सको अग्रता दोब्बर बनाए । यतिबेला खेल जमर्नीको हातबाट गुमिसकेको थियो ।
एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकरको जारी प्रतियोगितामा यो छैटौं गोल हो । यससँगै २५ वर्षीय ग्रिजमान गोल्डन बुटको प्रमुख दाबेदार बनेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोको ३ गोल रहेको छ । युरोमा एउटै प्रतियोगितामा उनीभन्दा मिचेल प्लाटिनी (९ गोल) ले मात्र बढी गोल गरेका छन् ।






