लण्डनको बर्न्टओकमा नेपाली कक्षा संचालनको दुइ बर्ष पुरा काउन्सिलरहरुले गरे अवलोकन

लण्डन । बेलायतका कन्जरभेटिभ तथा लेबर पार्टीका काउन्सिलरहरुले बर्न्टओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा गएको दुई वर्षदेखि सन्चालित नेपाली कक्षाको अवलोकन गरेका छन्।

लण्डनको बरो अफ बार्नेटबाट निर्वाचित काउन्सिलरद्वय लक्ष्य गुरुङ तथा अम्मर नकबीले आइतबार बर्न्टओकमा सन्चालित नेपाली कक्षाको अवलोकन गरेका हुन्।

सो अवसरमा बोल्दै बार्नेटको हेल वार्डबाट निर्वाचित काउन्सिलर लक्ष्य गुरुङले उनले प्रवासमा रहेको नयाँ पुस्तालाई नेपालसंग जोडन र आफ्नो संस्कृति चिनाउन नेपाली कक्षा उपयोगी भएको बताए।

बार्नेटको बर्न्टओक वार्डबाट निर्वाचित काउन्सिलर अम्मर नकबीले आफु आफ्ना बाबाआमासंग पाँच वर्षको उमेरमा पाकिस्तानबाट बेलायत आएको बताए। उनले नेपाली सिकीरहेका नानीहरु भाग्यमानी हुन् भन्दै नेपाली कक्षा सन्चालनका लागि के सहयोग गर्न सकिन्छ भनेर आफुले बार्नेट काउन्सिलमा छलफल गर्ने पनि बताए।

नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले नेपाली बालबालिकाहरुले नेपालको भाषा, संस्कृति र संपदाबारे जानकारी गराउने उद्देश्यले स्वयम्सेवीरुपमा नेपाली कक्षा शुरु गरिएको जानकारी दिए। नेपाली कक्षामा पढीरहेकी छात्रा स्वस्ति योगीले नेपाली भाषा लेख्‍न, पढन र बोल्न सिक्न पाउँदा आफु र आफ्ना साथीहरु निकै खुसी भएको बताइन्। सो अवसरमा बालबालिकाहरुले “फूलको आँखामा फूलै संसार” भन्ने गीत पनि गाएर सुनाएका थिए।

कार्यक्रममा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, उपाध्यक्ष बिष्णु गुरुङ, अन्य पदाधिकारीहरु तथा अभिभावकहरुको पनि उपस्थिति थियो। हरेक शनिबार सन्चालन हुने कक्षामा आधा घन्टा योग तथा ध्यान, आधा घन्टा संगीत र एक घन्टा नेपाली भाषा सिकाइने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *