लन्डन- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतस्थित नेपाली दूतावासले पहलकदमी लिन सुरु गरेको छ । शनिबार लन्डनस्थित नेपाली दूतावासमा भएको नेपाली समुदायका अगुवाहरुको भेलाले नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मुल समिति यूके’ गठन गरेको हो ।
उच्चस्तरीय समितिमा एनआरएन यूके, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसिप सोसाइटी, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, नेपाल पत्रकार महासंघ बेलायत लगायतका बेलायतस्थित सम्पूर्ण नेपाली सामाजिक, राजनीतिक, जातीय, पेशागत संघसंस्थाका प्रमुखहरु पदेन सदस्य रहनेछन् ।
उपसमिति पनि गठन गरिने उच्चस्तरीय समितिअन्तर्गत प्रचारप्रसार समिति, ट्राभल एण्ड टुर्स समन्वय समिति, साहसिक पर्यटन प्रबर्द्धन समिति, नेपाली कुइजिन समिति, आदिवासी जनजाति सांस्कृतिक प्रबर्द्धन समिति, खेलकुद समिति, कला, नाट्य तथा चलचित्र समिति, म्युजिक तथा इन्टरटेनमेन्ट समिति, महिला समन्वय समिति, युथ मोबिलाइजेसन समिति, विद्यार्थी समन्वय समिति, पेशागत समन्वय समिति, उद्योग तथा व्यापार समन्वय समिति, साहित्य समन्वय समिति, धर्म र संस्कृति समन्वय समिति, नेपाली भेषभूषा समन्वय समिति, सामाजिक सञ्जाल समन्वय समिति, वेल्स समन्वय समिति, स्कटल्याण्ड समन्वय समिति, उत्तरी आयर आयरल्ल्याण्डलगायतका विभिन्न उपसमितिहरु गठन गरिने दूतावासले जनाएको छ । उपसमितिहरुमा संयोजक, उपसंयोजक र सदस्यसचिवका रुपमा काम गर्न इच्छुकलाई आफ्नो नाम दूतावासमा पठाउन अपिल गरिएको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालको पनि उपस्थिति थियो । दूतावासले नेपाल भ्रमण वर्ष २०२० मा बेलायतबाट १ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको नेपाली राजदूत सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा तय गरेर हरेक नेपालीलाई कम्तीमा १ बेलायती साथीलाई पर्यटकका रुपमा नेपाल पठाउन आह्वान गरिएको छ ।
बेलायतका लागि नेपाली राजदूत एवम् समितिका अध्यक्ष डा दुर्गाबहादुर सुवेदीले समितिले सन् २०१९ र २०२० मा बेलायतका विभिन्न ठाउँमा विविध सांस्कृतिक, सांगीतिक तथा प्रबर्द्धनात्मक कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि बेलायती सांसद वीरेन्द्र शर्माले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफ्नो तर्फबाट आवश्यक सबै सहयोगको प्रतिबद्धता गरे । कार्यक्रममा लन्डनसहित वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डबाट समेत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन , भूपू गोर्खा, व्यवसायी, सञ्चारकर्मी लगायतका प्रतिनिधिहरुको उपस्थिति थियो ।
तस्विर : नरेन्द्र बस्नेत






