संसदमा मुठभेडको खतरा : सभामुख ‘सत्तामुख’ भएको प्रतिपक्षको आरोप

काठमाडौँ- सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछोड्दा संसदमा मुठभेड हुने खतरा बढेको छ ।

प्रतिपक्षले प्राध्यापक डा. गोविन्द केसीसँग गरेका सहमतिविपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न लागेको तथा काँग्रेस नेताका नाममा रहेका अस्पतालहरुलाई विघटन गर्न लागेको भन्दै संसद बैठक अवरोधको नीति लिएको छ ।

तर, सरकार भने गोविन्द केसीका जायज माग पुरा भैसकेको र अस्पतालहरु व्यवस्थित गर्न लागेकाले प्रतिपक्षले संसदमा अवरोध गर्नुको औचित्य नभएको दावी गर्दै आएको छ ।

यहि विवादकाबीच आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारीमा सत्तारुढ छ भने प्रतिपक्ष जर्बजस्ती गरे प्रतिरोध गर्ने रणनीतिमा छ ।

‘चिकित्सा शिक्षा विधेयकका सवालमा सरकार र गोविन्द केसीबीच भएको सहमतिको अक्षरंस पालनाको सुनिश्चितता र काँग्रेस नेताका नाममा रहेको दुई अस्पताल केन्द्र सरकारले सञ्चालन गर्ने मनित्रपरिषदले निर्णय नगर्दासम्म सदन अवरोध कायमै राख्छौ,’ काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले तत्काल आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै हठको राजनीति गर्न छाडेर सहमति र सहकार्यको बाटो लिएमात्रै संसदका गतिविधि सहजै सञ्चालन हुन सक्ने बताए ।

‘सरकार आफैले डा. केसीसँग गरेको सहमति उल्लंघन गर्दै आएको छ । जसको विरोधमा केसी अनसनमा हुनुहुन्छ । अर्कोतिर काँग्रेसलाई अपमान गर्दै अस्पतालहरु खारेज गर्ने निर्णय भएको छ । यी दुई विषय नसच्चिएसम्म सदनको अवरोध हट्दैन,’ काँग्रेस नेता समेत रहेका खाडको चेतावनी छ ।

अर्का नेता तथा काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले सदन चल्ने–नचल्ने सभामुखको हातमा रहेको भन्दै सभामुख सत्तामुख भएकाले समस्या आएको बताए । उनले भने, ‘गरिमामय पदमा रहनुभएका सभामुख सभामुख नरहेर सत्तामुख हुनुभएको छ । यसले गर्दा जुनसुकै बेला दुर्घटना निम्तन सक्ने संकेत देखिएको छ । हाम्रो भनाई सभामखु सत्तामुख हुनुभएन ।’

सोमबारको बैठक पनि काँग्रेसको अवरोधपछि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । सोमबारको सम्भावित कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो ।

आज भने अवरोध भएपनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख कृष्णबहादुर महरा रहेको बताइएको छ ।

यहिबेला राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै डा. गोविन्द केसी आमरण अनशनमा छन् ।

विधेयकमाथि छलफल हुन नदिने र रोष्टम घेराउ गर्ने तयारी भएको प्रमुख सचेतक बालकृष्ण खाडले बताए । यसैवीच सत्ता र प्रतिपक्ष दुबै दलले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन ह्विप जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *