काठमाडौँ- जेलमा रहेका सञ्जय साह ‘टकला’ का नेता कार्यकर्ताहरु उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
विजयकुमार गच्छदारको तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट अलग भएर साहले मधेश क्रान्ति फोरम गठन गरेका थिए । मधेश क्रान्ति फोरम गठन गरेपनि उनले त्यसलाई औपचारिक तहमा पार्टीको रुपमा दिएनन् ।
सोही नाममा केही समय राजनीति गरेपछि साह राजेन्द्र महतोको सद्भावना पार्टीबाट दोस्रो संविधानसभा चुनावमा भाग लिएका थिए । उनले जनकपुरबाट चुनाव पनि जितेका थिए तर संविधानसभा सदस्य रहेकै बेला भ्रष्टाचार तथा हत्याको आरोपमा उनी पक्राउ परे ।
जेल गएपछि साहले आफ्ना विश्वासिलो नेता नविन यादवलाई मधेश क्रान्ति फोरम जिम्मा लगाएका थिए । अहिले नविन यादव संयोजक रहेको मधेश क्रान्ति फोरम संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।
आफ्नो संरक्षणका लागि साह कहिले विजय गच्छदारको पार्टी त कहिले राजेन्द्र महतोको पार्टीको शरणमा पुगेका थिए । तर उनलाई कसैले साथ दिएनन् । प्रतिनिधिसभा चुनावमा उनले विमलेन्द्र निधिलाई जेलबाटै साथ दिएका थिए ।






