लन्डन । सार्वजनिक नीति निर्माणलाई मुर्तरुप दिन गैरआवासीय नेपाली संघ (एनआरएनए)को थिंक–ट्यांक र नेपाल सरकारको थिंक–ट्यांकबीच औपचारिकरुपमा साझेदारी सुरु भएको छ ।
संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै आफूले हालै गठन गरेको थिंक–ट्यांक, नेपाल पोलिसि इन्ष्टिच्युट (एनपीआई) र सरकारी थिंक–ट्यांकबीच साझेदारीका लागि आग्रह गरेको हो । एनपीआईको नेतृत्व गरिरहेका खगेन्द्र ढकालले बैंककस्थित नेपाली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीलाई यससम्वन्धी पत्र बुझाएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघलाई विकास साझेदारको रुपमा स्वीकार गर्न आफू दिलैदेखि लाग्ने बताउँदै नीति निर्माण र सुधार प्रक्रियामा एनपीआईसँग सरकार पनि लाग्ने बताए ।
मन्त्री ज्ञवालीलाई बुझाइएको पत्रमा हस्ताक्षर गर्दै संघका अध्यक्ष भवन भट्टले सरकारीको जारी नीति बहसमा गैरआवासीय नेपाली संघले योगदान गर्ने प्रतिवद्धता जनाए । उनले यसका लागि राष्ट्रिय योजना आयोगलाई फोकल प्वायन्ट बनाउँदै एनपीआईले विभिन्न सरकारी निकायसँग नियमित सहकार्य गर्नुपर्ने बताए ।
साथै भट्टले एनपीआई गैरआवासीय नेपाली संघको विधानको धारा २०.६ अनुसारको संस्था भएको बताए । यसअघि गत अक्टोबरमा सम्पन्न गैरआवासीय नेपाली संघको काठमाडौंमा आयोजित पहिलो ग्लोबल एनआरएन नलेज कन्फेरेन्सको प्लेनरी सेसनमा एनपीआईले आफ्नो रणनीतिक योजना छलफलका लागि प्रस्तुत गरेको थियो ।
उक्त सेसनमा परराष्ट्रमन्त्री, योजना आयोगका उपाध्यक्ष, विभिन्न क्षेत्रका थिंक–ट्यांकहरुले नेपालको विकास नीतिमा डायस्पोराहरुको भूमिकाबारे आआफ्नो धारणा राखेका थिए । त्यस क्रममा प्राप्त सुझावहरु संकलन गरी तयार पारेको एनपीआईको रणनीतिक योजना (२०१९–२०२१)को नयाँ मस्यौदा एनपीआईका कार्यसमिति सदस्यहरु राजेन्द्र श्रेष्ठ –एआइटी एसईआरडीका डिन), रमेश सिंह (एक्शन एडका पूर्वप्रमुख कार्यकारी अधिकृत) र विश्व तिवारी (यूएनडीपीसम्वद्ध अर्थशास्त्री)ले परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरेको थियो ।
उनीहरुले यो रणनीतिक योजना वृहत्तर हितका लागि भएकोले सबैको सुझाव र प्रतिक्रियाका लागि खुला रहेको पनि बताएका थिए । सोही कार्यक्रममा बोल्दै एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले यो संस्था नेपालीहरुको अन्तर्राष्ट्रिय थिंक–ट्यांक तथा नलेज प्ल्याटफर्म हुने भन्दै नेपाली र नेपाली मुलका विश्वभरका विज्ञलाई यसको अंश हुन आग्रह गरे ।
ढकालले ज्ञानमा आधारित पुँजी पनि महत्वपूर्ण रहेको र गैरआवासीय नेपाली संघले वित्तीय पुँजीभन्दा बढि पारदर्शी तरिकाले ज्ञानमा आधारित पुँजीलाई नेपाल भित्राउँदैछ भन्दै एनपीआईले डायस्पोरा विज्ञहरुको क्षेत्रगतरुपमा विषयगत रिसर्च टिम बनाउने बताए ।
थाइल्याण्डका लागि नेपाली राजदूत डा. खगनाथ अधिकारी, गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष आसाजिता अवाले र नेपाली समाजका संरक्षक डेबिट खनालले कार्यक्रममा बोलेका थिए । अन्तरक्रियामा नेपाली विज्ञ एवं नेपाली समुदायसँग सम्वद्ध संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।






