फोरममा विवाद : उपाध्यक्ष रेणु बैठकमै रोइन्

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद अहिले चर्चामा छ । तर, संघीय समाजवादी फोरम नेपालभित्र देखिएको विवादले भने खासै चर्चा पाएको छैन ।

मंसिर २ गतेदेखि ४ गतेसम्म फोरम नेपालको पदाधिकारीको बैठक बसेको थियो सो बैठकमा पार्टीका उपाध्यक्ष एवम् प्रदेश २ का इन्चार्ज रेणु यादवलाई कारवाही गर्ने प्रस्ताव आएको थियो ।

उपाध्यक्ष रेणु यादवले पार्टीको हितविपरित प्रदेश समितिबाट निर्णयहरु गराएको कारण उनीमाथि कारवाही हुनुपर्छ भन्दै पदाधिकारी बैठकमा प्रस्ताव आएपछि उनी आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

उनले आफ्नो पदबाट राजीनामा दिए पनि त्यसमा हस्ताक्षर भने गरेकी थिइनन् ।

असोज ३ गते पार्टीले कालो दिवस नमनाउने निर्णय गरेपनि उनले प्रदेश २ समितिबाट विज्ञप्ति जारी गरी कालो दिवस मनाउने घोषणा गरेकी थिइन् ।

प्रदेशको विज्ञप्ति आएपछि पार्टीका सहमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेका थिए । तैपनि रेणु यादवले प्रदेश २ मा कालो दिवस मनाउने अडान लिएकी थिइन् ।

त्यति मात्र होइन, सहमहासचिव अधिकारीले विज्ञप्ति जारी गरेपछि उपाध्यक्ष रेणु यादवले उनलाई फोन गरी तथानाम गाली गरेकी थिइन् । अधिकारीले गाली गरेको फोन रेकर्ड बैठकमा पनि सार्वजनिक गरेका थिए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव देश बाहिर भएको मौका पारेर उपाध्यक्ष एवं प्रदेश इन्चार्ज रेणु यादवले प्रदेश २ अन्तगर्तका जिल्लाहरुमा इन्चार्ज तथा सहइन्चार्ज तोकेकी थिइन् । जुन पार्टी विधान विपरित थियो ।

आठवटै जिल्लामा आफ्ना निकटका व्यक्तिलाई इन्चार्ज तथा सहइन्चार्ज बनाएपछि पार्टीमा व्यापक असन्तुष्टि बढेको थियो ।

जिल्लाबाट अध्यक्ष उपेन्द्र यादव कहाँ डेलिगेशन नै आयो । सो डेलिगेशनका आधारमा अध्यक्ष यादवले पदाधिकारीको बैठक बोलाए ।

सो बैठकले प्रदेश इन्चार्ज रेणु यादवले गरेकी सम्पूर्ण निर्णयलाई बदर गर्ने निर्णय गरेको थियो । प्रदेश इन्चार्ज यादवले आफ्नो अनुकुल पार्टीको विधान विपरित गरेका निर्णयहरुलाई बैठकले बदर गरेको पार्टीका एक नेताले बताए ।

जिल्लामा गरेका निर्णयहरु बदर हुनु र अर्कोतिर कारवाहीको कुरा उठ्नुले रेणु यादव निकै अप्ठ्यरोमा परिन् ।

उनी बैठकमै रुन थालिन् । पार्टीका लागि गरेका योगदान तथा कार्यहरुको फेहरिस्त सुनाउँदै उनी रोएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमै रुन थालेपछि तत्कालै उनको राजीनामाको बारेमा पार्टीले कुनै निर्णय नलिएको स्रोतले जनाएको छ ।

अब मंसिर २० गते बस्ने राजनीतिक समितिमा पनि यस विषयमा थप छलफल हुने बताइएको छ । राजनीतिक समितिको बैठकपछि मंसिर २२ र २३ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ ।

यसैगरी, फोरम नेपालले महाधिवेशनको समय सारेको छ । माघका लागि तय गरेको महाधिवेशनलाई वैशाखमा लगेको छ । २०७६ बैशाख २७, २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश, जिल्ला, नगर, गाउँपालिकाका अधिवेशनहरु सम्पन्न भइनसकेकाले महाधिवेशनको समय सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *