बलात्कारविरुद्धको प्रदर्शनमा झडप

बारा,  २८ फागुन । बारामा ६ वर्षिया बालिका पुजा साहलाई बलात्कार गरी मृत्युको मुखमा पु-याउने कलैया नगरपालिका वडा नम्बर ४ का कन्हाइ गुप्तालाई कडा सजायको माग गर्दै आज पनि प्रदर्शन भएको छ । बेटी बचाउ संघर्ष समिति कलैयाको आह्वानमा आज पनि भरत चोकमा बालिकाको शव राखेर विरोध प्रदर्शन भएको हो । प्रदर्शनको क्रममा स्थानीयबासी र प्रहरीबीच दोहोरो झडप समेत भएको छ ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा केही घाइते भएका छन् । बेटी बचाउ संघर्ष समितिले आज शव सहित प्रर्दशन गरेर जिल्ला प्रहरी र प्रसाशन कार्यालय घेराउ गरेपछि झडप भएको हो । घटनाको विरोधमा महिलाहरुले जिल्ला प्रशासन कार्यालय बारा अगाडी झाडु सहित प्रर्दशन गरेका थिए ।
कलैया नगर क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुपर्ने, पीडित परिवारलाई १० लाख रुपैयाँं उपलब्ध गराउनुपर्ने, बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय हुनुपर्ने  लगायतका माग राखेर प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले सदरमुकाम कलैयाबाट छुट्ने र भित्रने गाडीहरु संचालनमा पनि रोक लगाएका थिए । यही फागुन ८ गते साँंझ एकाएक बेपत्ता भएकी बालीका पुजा ९ गते बिहान मकसुद अंसारीको घर पछाडीको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । दुई साता लामो उपचारपछि बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।