बेलायत सरकारद्वारा ब्रेक्जिट सम्झौताको मस्यौदा अनुमोदन

लण्डन  । बेलायत सरकारले युरोपेली संघ (ईयु) बाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई अनुमोदन गरेको छ ।

बेलायती मन्त्रिपरिषद्को पाँच घण्टा लामो बैठकले मस्यौदा अनुमोदन गरेको हो ।

लन्डनमा भएको बैठकले भविष्यमा बेलायत र युरोपेली मुलुकबीचको सम्बन्धका विषयमा बेलायत र ईयुका अधिकारीहरुले तयार पारेको राजनीतिक घोषणापत्र अनुमोदन गरेको हो ।

बैठकपछि बेलायती प्रधानमन्त्री टेरिजा मेले यो निर्णायक फैसला भएको र देशको हितमा रहेको बताइन ।

उनले युरोपेली मुलुकसँग भएको सम्झौताले बेलायतको संवैधानिक एकता र सुरक्षालाई सहयोग पुग्ने दाबी गरिन् ।

प्रधानमन्त्री मे ले बेलायती संसद्लाई यसबारे जानकारी दिने तयारी गरेकी छन् ।

तर सो सम्झौतालाई लिएर प्रधानमन्त्री मे ले विरोधको पनि सामना गर्नुपरेको छ । विपक्षी पार्टीका केही मन्त्रीले प्रस्तावित मस्यौदाको आलोचना गरेका छन् ।

लेबर पार्टीका मन्त्री जेरेमि कार्बिनले सदनमा यो विषय आधा बाटोमै रोकिन सक्ने बताएका छन् ।

महिनौंदेखि अन्योलमा रहेको सम्झौता बेलायती सरकारले अनुमोदन गरेसँगै युरोपेली नेताहरुले भने त्यसको स्वागत गरेका छन् ।

उनीहरुले दुवै पक्षले निर्णायक प्रगति हासिल गरेको दाबी गरेका छन् । बेलायतले मस्यौदा अनुमोदन गरेपछि अब २७ सदस्य रहेको ईयुका नेताहरुको शिखर बैठक बोलाइने भएको छ ।

यसै महिना हुनसक्ने सो बैठकले सम्झौता अनुमोदन गर्नुपर्ने छ ।

त्यसपछि पनि सो सम्झौतालाई बेलायती संसद तथा युरोपेली संसद्ले अनुमोदन गर्नुपर्ने छ । सन् २०१९ मार्चमा बेलायत औपचारिक रुपमा ईयुबाट बाहिरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *