लन्डन– पत्रकार महासंघ यूकेको आइतबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल, उपाध्यक्षमा ध्रुवराज अर्याल र महासचिवमा लीलामान शेरपूर्जा विजयी भएका छन् । तीनबाहेक अरु सबै पद सर्वसम्मत भएको थियो ।
शाखाको बरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेलले ३२ र धर्मराज अधिकारीले २३ मत पाएका छन् । उपाध्यक्षमा ध्रुवराज अर्यालले ३६, मिलन शर्माले १९ मत पाए । महासचिवमा लिलामान शेरपुर्जाले ३१ र नारायण गाउँलेले २४ मत पाए ।
नेपाल पत्रकार महासंघ युके शाखाको अध्यक्षमा यसअघि नै नरेश खपांगी मगर निर्विरोध निर्वाचित भएका थिए ।
अध्यक्ष दाबेदार विमला सेने आफ्नो दाबीबाट पछि हटेपछि खपांगी मगर निर्विरोध भएका थिए ।
सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पूर्ण गुरुङ र सहकोषाध्यक्षमा रोशन राई निर्विरोध भएका थिए ।
सदस्यमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती सर्वसम्मत भएका छन् । ८ जना सदस्यमा ४ जनाको मात्रै उम्मेदवारी परेको थियो ।
अधिवेशनको एक कार्यक्रमबीच महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले उदघाटन गरेका थिए ।
अधिवेशनमा महासंघका उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, पूर्वकेन्द्रीय सदस्य एवं सञ्चार मन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेललगायत अतिथि छन् ।






