छोरा नजन्माएको भन्दै श्रीमानले कान्छी ल्याएपछि

काठमाडौं, २८ फागुन – कालिमाटीस्थित नेपाल प्रहरीको महिला तथा बालबालिका सेलको प्रतिक्षालयमा बुधबार रेजिना अर्याल अन्यौलमा देखिइन् । अब के गर्ने ? यकिन थिएन, भनिन्, ‘अब अदालत नै जानुपर्ला ।’

छोरा नजन्माएको आरोप लगाएर श्रीमान गुणराज रायमाझीले अर्को विवाह गरे । महिला सेलमा बहुबिबाहको ठाडो उजुरी दिएर रेजिनाले श्रीमान्लाई पक्राउ त गराईन् । अब भने के गर्ने उनी निर्णयमा थिइनन् । श्रीमानलाई बहुविवाहको मुद्दा दिएर मात्रै रेजिनाको गुजारा चल्दैन ।

पाँच वर्षअघि बुबा आमाले नै गुणराजसँग विवाह गरिदिएका थिए । १६ वर्षको उमेरमा विहे गरेकी उनले २०६९ सालको कात्तिक महिनामा छोरी जन्माइन् । ‘छोरा नपाएको भनेर घरमा खान पनि दिएनन्’ रेजिनाले भनिन्, ‘खानै नपाएपछि सुत्केरी भएको १४ दिनमा माइती गएको थिएँ ।’

माइती चितवन गएपछि उनका श्रीमान् गुणराज कहिल्यै भेट्न पनि गएनन् । न त उनलाई काभ्रे नै आउन दिए । ‘श्रीमान सासुससुराले घर आउने भए पाँँच लाख रुपैयाँ ले भनेर दाइजो माग्थे’ उनले थपिन्, ‘कुटपीट गरेर बस्नै नसकिने भएकोले घर आउन पनि सकिन ।’

एक हप्ताअघि मात्रै श्रीमानले अर्को विहे गरेको रेजिनाले थाहा पाइन् । उनले बहुविवाह गरेको जानकारी पाउँदा गुणराजकी कान्छी श्रीमती सञ्चिता खतिवडाले भर्खरै छोरा जन्माएकी रहिछन् । रेजिनाले अर्को विहे गरेको थाहा पाएपछि सोमबार उनले कालिमाटीको महिला तथा बालबालिका सेलमा वहुविवाहको ठाडो उजुरी दिएकी थिइन् ।

मंगलबार प्रहरीले गुणराज र उनकी कान्छी श्रीमती सञ्चिता खतिवडालाई नावालक छोरा सहित पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको महिला सेल प्रमुख इन्सपेक्टर पूर्णिमाकुमारी चन्दले बताइन् ।

बहुविवाहको मुद्दामा सौता र श्रीमान्लाई प्रहरीले पक्राउ गरेपनि अब थप अधिकारको लागि के गर्ने रेजिनाले निर्णय गरेकी छैनन् । अब श्रीमानसँग बस्न नसक्ने भएकोले आफ्नो र छोरीको लागि खर्चको व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।

तर, अंशको लागि अदालतमा अंश मुद्दा दायर गर्नुपर्छ । ‘तीन वर्षकी छोरी काखमा लिएकी रेजिनाले भनिन्, ‘छोरीलाई बोकेर कतिदिन अदालत धाउनुपर्ने हो ।’

रेजिनाको जस्तै प्रकृतिका बहुविवाहको उजुरी बालबालिका तथा महिला सेलमा यो वर्षको आठ महिनाको अवधीमा १० वटा परिसकेको छ । गतवर्ष २० वटा बहुविवाहको उजुरीमा प्रहरीले मुद्दा चलाएको थियो । सानो उमेरमा परिवारको स्वीकृति वा प्रेम विवाह गरेका पुरुषले बहुविवाह गर्ने समस्या बढ्दै गएको इन्सपेक्टर चन्दले बताइन् ।