नाकाबन्दी खुल्यो, इन्धन आएन

tankभरत पाण्डेय, काठमाण्डाै १७ असाेज ।  भारतले आईतबारदेखि नाकाबन्दी खोल्ने भनेपनि आईतबार दिउँसो २ बजेसम्म पनि आवागमन सहज हुन सकेको छैन । अघोषित नाकाबन्दी घोषित रुपमा खुलाउने निर्देशन भारतले दिएको भनिएपनि पेट्रोलियम पदार्थ ईन्धन बोकेका सवारी साधन निर्वाध रुपमा आउन नसकेको भन्सार कार्यालयहरुले जनाएका छन् ।

सुनौली–बेलहिया नाकामा अघिल्लो दिनहरुका तुलनामा झन् कममात्र गाडीहरु भित्रीएको सुरक्षा निकायले जानकारी दिएको छ । भित्रीएका गाडीहरुमध्ये पनि नेपालमा अभाव भएको ईन्धन र ग्यासको नभई भारतीय पर्यटक बस र तरकारीका गाडीमात्र छन् ।
बेलहिया नाकाबाट आईतबार मध्यान्ह ईन्धन र ग्यास भित्रीएकै छैन तर ट्रक २१, पिकअप ८ र पर्यटक बस ११ वटा भित्रीएका छन् । सो नाकामा शनिबार पनि जम्मा ६ वटा ईन्धनबोकेका ट्याँकर र २ बुलेट ग्याँस भित्रँदा १८ वटा पर्यटक वस र ७८ वटा ट्रक भित्रीएका थिए ।
नाका खोलेको भनिएपनि बन्दको दिनमा जस्तै थोरै गाडी आएको सहज रुपमा सामान भित्रन नसकेको सुनौली–बेलहिया भन्सारका भन्सार प्रमुख लावण्यप्रसाद ढकालले रातोपाटीलाई बताए ।

‘नाका खुल्यो भनेर ह्वारह्वार्ती त आईरहेको छैन’ सुनौली–बेलहिया भन्सारका प्रमुख लावण्यप्रसाद ढकालले भने ‘हिँजो अस्तिजस्तै सामान्य रुपमा मात्रै सामान आएको छ ।’
नाकाबन्दी र मधेश आन्दोलनका कारण भन्सार नाकाहरुबाट असोजको आधाआधि सम्म जम्मा २४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । असोज महिनाको १६ दिनको अवधिमा भन्सार विभागले जम्मा तीन अर्व ६१ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
विभागले असोजमा १५ अर्व ७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भएपनि लक्ष्य भन्दै आधामात्रै राजस्व संकलन हुने देखिएको विभागका प्रवक्ता सूर्य सेढाईले बताए । मधेशको आन्दोलन र भारतको अघोषित नाकाबन्दीबका कारण भन्सार नाकाहरु ठप्प हुँदा राजस्वमा ठूलो नोक्सानी भएको विभागले जनाएको छ ।
असोज महिनामा अघिल्लो १६ दिनमा राजस्वमा ठूलो नोक्सानी व्यहोरेपनि आईतबारदेखि सुधार हुने केही लक्षण नदेखिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

भारतमै थन्कियो ६ सय ७० बुलेट ग्याँस

भारतले नाकाबन्दी खोलेको भनेर हल्ला चलाईएपनि विरंज भन्सारबाट आउनुपर्ने ग्याँसहरु भने भारतमै थन्किएका छन् । रक्सौल नाकास्थित पुलमा मोर्चाका नेता कार्याकर्ता बसेर अवरोध गरीरहेकोले भारतीय प्रहरीले भारततर्फबाट आएका सवारी साधन १० किलोमिटर भित्रै रोकीरहेको छ । मधेशी मोर्चाले ५१ दिन देखी बन्द गरेपछि वीरगंजको सिमावर्ती सहर रक्सौलबाट नेपालका लागि आयत गरिएको ६ सय ७० बटा भन्दा बढी ग्याँस बुलेट (खाना पकाउन ग्याँस) वीरगंजको सिमावर्ती सहर रक्सौल देखी १० किलोमिटर टाँढा लक्ष्मीपुरमा थन्किएका छन् । राजेन्द्र महतोको नेतृत्वमा सिमा नाकामा मदेशवादी दलका नेता कार्यकर्ता बसिरहेका छन् ।
दैनिक ३५ लाखको हाराहारीमा राजस्व आउने सिराहाको खटुका भन्सार लगायतका नाकाहरु ठप्प छन् । अन्यत्र सामान्यतया खुलेको भएपनि सिराहाको खटुका भन्सार, लोकाहाठारी र बजारपट्टी नाका पूरै ठप्प छन् ।

सुख्खा बन्दरगाहमा ९० करोड नोक्सानी
दैनिक ५ करोड राजस्व संकलन हुने विरगंज स्थित सुख्खा बन्दरगाहमा असोज लागेपछि ९० करोड नोक्सानी व्यहोर्नुपरेको छ । बन्दरगाह १५ दिन देखि पूर्णतया ठप्प हुँदा असोज ३ गतेदेखि दैनिक ६ करोडका दरले नोक्सानी व्यहोर्नुपरेको हो । बन्दरगाहको व्यवस्थापन ठेक्का लिएको हिमालयन टर्मिनल प्रालिका कर्मचारी, एजेण्ट र मजदुरको अबरोधका कारण बन्दरगाह ठप्प छ । असोजको सुरुवातीसम्म स्कटिङमा सामान चलाएको बन्दरगाहले असोज ३ गतेदेखि मजदुरले काम गरेका छैनन् ।
जसका कारण औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, रासायनिक मल लगायतको सामान नेपाल भित्र्याउन सकेको छैन । बन्दरगाहमा सामान भरिएपछि थप सामान ल्याउन कठिन छ । ‘१ लाख ५० हजार मेट्रिकटन सामान भन्सारमा थन्किएको छ ’ बन्दरगाह प्रमुख देवि भण्डारीले भने ‘कलकत्ताबाट अउने ट्रेन को थप सामान पनि अनलोड गर्ने ठाउँ छैन ।’

भन्सार प्रमुख भण्डारीका अनुसार दैनिक ५ करोड राजस्व संकलन हुने बन्दरगाहमा भारतबाट आएका कण्टेनरहरु फिर्ता जान नसक्दा दैनिक १ करोड अतिरीक्त घाटा व्यहोर्नुपरेको छ । ‘कलकत्ताबाट आएका ६ सय कण्टेनर सामान अनलोड गरी फिर्ता हुन सक्दा १ करोड थप घाटा व्यहोर्नु परीरहेको छ ’ उनले भने । कलकत्ताबाट तेश्रो मुलकको सामान लोड गरी आएका कण्टेनर १४ दिनमा फिर्ता हुन सकेन भने अतिरीक्त डिटेन्सन शुल्क तिर्नुपर्ने हुन्छ ।
बन्दरगाहमार्फत भारत बाहेक अन्य मुलुकबाट औद्योगीक कच्चा पदार्थ, दलहन बाली तथा भारतबाट यूरीयामल र फलाम आउने गर्दछ । सबैभन्दा धेरै सामान चीनबाट आउने गरको छ । बन्दरगाह बन्द भई अतिरीक्त नोक्सानी तिर्ने र आफ्नो सामान पनि समयमा ल्याउन नसक्दा त्यसप्रति वितृष्णा बढेको व्यवसायीहरु बताउँछन् । सहज र भरपर्दो भएको कारण बन्दरगाहमार्फत सामान ल्याउने व्यापारीहरु अहिले अतिरीक्त शुल्क तिर्न बाध्य भएपछि त्यसको विकल्पमा लाग्नुपर्ने बताउन थालेका छन् । यसरी लामो समयसम्मको बन्द हुँदा पनि बन्दरगाह व्यस्थापनले हेलचेक्राई गर्ने र सरकारले खुलाउन ध्यान नदिँदा उनीहरुको वितृष्णा बढेको हो । व्यापारीहरुले सामान ल्याउन विकल्प खोजेभने बन्दरगाह बन्द गरेर बसेपनि हुने अवस्था आउने त्यहाँका कर्मचारीहरुको भनाई छ ।

गाडी भित्रिए रोक्न मोर्चाका कार्यकर्ता तैनाथ

भारतले नाका खोलेर सहज रुपमा सामान भित्रीएमा रोक्नका लागि भन्दै भन्सार नाकाहरुमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु तयारी अवस्थामा बसेका छन् । कतिपय नाकामा कार्यकर्ताले पहिल्यैदेखि अड्डा जमाएर बसेका छन् भने कतिपयमा भारतले नाका खोलेको थाहा पाएपछि जम्मा हुन थालेका छन् । सुनौली नाकामा आईतबार दिउँसोदेखि मोर्चाका कार्यकर्ता भेला भएको स्थानीयले जानकारी दिएका छन् ।

विराटनगरमा भने नेपाल भारतबीच सहमति
विराटनगरको जोगवानी नाकामा भने आपूर्ति सहज बनाउन दुई देशका अधिकारीहरुले सहमति गरेका छन् ।
दुवै तर्फका भन्सार अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न चार बुँदे सहमति भएको छ । औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने लगायतको सहमति भएको हो ।
नाका खुलेपछि नेपाल भित्रने सवारीको चाप सहज बनाउनका लागि भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने पनि सहमित भएाको विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेतले बताए ।
नेपाली पक्षको नेतृत्व बस्नेतले गरेका थिए भने भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताले भारतीय पक्षको नेतृत्व गरेका थिए बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको पछि आजैदेखि नाका सुचारु हुने बस्नेतले बताए ।