कांग्रेस–एमालेले विपक्षीलाई भोलीसम्म कुर्ने

काठमाडौं, २८ फागुन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भोलीसम्म विपक्षी दलहरुसँग वार्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले आज नभए भोलीसम्म ३० दलीय मोर्चामा रहेका दलहरुसँग वार्ता गर्ने निर्णय गरेको एमाले बरिष्ठ नेता झलनाथ खनालले बताए ।

संयुक्त छलफलमा सबै दलले आफ्ना एजेण्डा र अडान राख्ने र निष्कर्ष निस्कन सक्ने उनले बताए । कांग्रेस एमालेको गठबन्धन कुनै पनि हालतमा नतोडिने भन्दै नेता खनालले आफूहरुकै गठबन्धनमा सहभागी हुन अरु दललाई पनि आग्रह गरे ।

तर दुई दलले आफूहरुले संवाद समितिमा पेश गरेको ९ बुँदे प्रस्तावमा लचकता अपनाउने ठाउँ नरहेको स्पष्ट पारेको छ । खनालले भने, ‘हामीले पेश गरेका अडानमा तलमाथि गर्न सक्ने ठाउँ छैन, त्यसैमा उहाँहरु पनि आउँछ सबैको हित हुन्छ ।’

कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले बिहीबार मन्त्री परिषद् बैठक भएकाले मोर्चासँग छलफल हुन नसक्ने बताए । उनले संविधानसभा स्थगित नभई केही दिनका लागि रोकिएको मात्र भन्दै प्रतिपक्षी दलहरु लचक भएर सहमतिमा नआए संविधान निर्माणको काम अघि बढ्ने बताए ।