लण्डन । चर्चित हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडाले बेलायतवासी नेपालीहरुलाई पेट मिचीमिची हँसाएर उनीहरुको मन जितेका छन्।

शनिबार उत्तर पश्चिम लण्डनको अल्पर्टन स्कुलमा आयोजित एक कार्यक्रममा सिंखडाले गणतन्त्र नेपालमा नेताहरुको व्यक्तिवादी प्रवृत्ति, विदेशी हस्तक्षेप, कलाकारहरुको आडम्बर र एनआरएनको कार्यशैलीप्रति व्यंग्य गरेका थिए। “नेपालमा धुर्मुस सुन्तलीको काम वस्ती बसाउने, देशका प्रधानमन्त्रीको काम चाहिं जनता हँसाउने” भन्दै कलाकार सिंखडाले सबै नेपालीको मन भित्र नेपालको माया अटाउनु पर्ने बताए। “बारीको काउली खाए पो बारीको माया लाग्छ, पारीको काउली खाएपछि पारीकै माया लाग्छ,” उनले भने।

उनले एनआरएनको विशेषता खादा, माला र आसन ग्रहण हो भन्दै व्यंग्य पनि कसे। महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनबीच संवादको शैलीमा व्यंग्य कविताहरु सुनाउँदै उनले सकारात्मक सन्देशहरु पनि दिए। कार्यक्रमका प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समाज नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा सघाउन सक्षम रहेको बताए।

उनले नेपाली कला, साहित्यका साथै नेपाली बीचको एकता, सहकार्य, सद्भावना र सहिष्णुतालाई प्रबर्द्धन गर्न शैलेन्द्र सिंखडाजस्ता कलाकारहरुले मानार्थ राजदूतको भूमिका निर्वाह गरिरहेको भन्दै त्यसको प्रशंसा गरे। उनले झापाका वृद्धवृद्धालाई रत्न आश्रमले पुराइरहेकेा सेवाको प्रशंसा गर्दै त्यस्तै आश्रम नेपालका सबै जिल्लाहरुमा खोल्न आवश्यक रहेको पनि बताए। रत्न आश्रम सहयोग समित‌ि युकेकी सहकोषाध्यक्ष पारिका आलेले अहिले आश्रममा आठजना वृद्धवृद्धाहरुको रेखदेख भैरहेको बताउँदै त्यसको सन्चालनमा सघाउने सबैलाई धन्यवाद दिइन्।

उनले स्वर्गीय रत्नबहादुर सुनुवार तथा रत्नमाया सुनुवारको नामबाट खोलिएको आश्रमलाई श्रीमती मन सुनुवार तथा परिवारले निशुल्क जग्गालगायत अन्य सहयोग गरिरहेको पनि बताइन्।

कार्यक्रममा पारिका आले, रश्मी गौतम, प्रशंसा कँडेल, मिसेज युके नेपाल २०१८ बिनु लामिछाने, रिया लामिछाने लगायतका कलाकारहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए। रामशरण सिंखडा, प्रसुना कँडेल र कृष्ण भट्टले सन्चालन गरेकेा कार्यक्रममा बाशु लामिछानेले कार्यक्रम सफल बनाउन सघाउने सबैलाई धन्यवाद दिएका थिए।

फेसबुक कमेन्ट