बाँकेमा हायस र ट्रक ठोक्किँदा ६ को मृत्यु, १७ घाइते

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक शनिबार बिहान एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करीब ९:१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएको थियो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका १७ जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।