बेलायतमा नेपाली करांते खेलाडीलाई अन्तर्राष्ट्रिय पदक

लण्डन । करांतेका नेपाली खेलाडीहरुले बेलायतमा अन्तर्राष्ट्रिय पदक जितेका छन् ।

ब्रिटिश करांते फेडेरेसन (बिआईएफ) ले सेप्टेम्बर २२ र २३ मा बेलायतको लेस्टरमा आयोजना गरेको इन्टरनेसनल ओपन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुलाई उैतिहासिक सफलता मिलेको हो ।

११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले यो उपलब्धी हात हासिल गरेको हो ।

प्रतियोगितामा नेपालका लागि सोनाम लामाले ६० केजी तौल समुहमा कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै, टिम फाईटमा सोनाम लामा, विप्लभलाल श्रेष्ठ र प्रशिक्षक तथा खेलाडी विनोद शाक्यको समुह उपविजेता बन्दै रजत पदक जित्न सफल भएको छ ।

६० केजी तौल समुहमा कास्य पदक जित्ने क्रममा सोनामले इंग्ल्याण्डका खेलाडीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए । तर स्कटलाण्डका खेलाडीसंग पराजित बनेपछि उनले कास्यमै चित बझाउनु परेको थियो ।

त्यस्तै टिम फाईटमा नेपाली समुह इंग्ल्याण्डसंग थोरै अंकले पराजित भएपछि नेपाल रजतमै सिमित भएको हो ।

नेपालबाट रेफ्रीको भुमिकामा आएकी सिर्जना अधिकारीले पनि सो प्रतियोगिताकै उत्कृष्ट रेफ्रीको रुपमा चयन हुन सफल भएकी छन् ।

इंग्ल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, ब्राजिल, पोर्चुगल, फिनल्याण्ड सहित विभिन्न १ दर्जन बढि देशका खेलाडीहरुले उक्त च्याम्पियनसिपमा भाग लिएका थिए ।

नेपालको लागि महत्वपुर्ण अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई लण्डनमा सम्मान गरिने भएको छ । राष्टिय तथा अन्तराष्टिय खेलाडि संघ बेलायतले खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिएका छन् । सम्मान कार्यक्रमको दिन र भेन्यू तोक्न भने बांकी छ ।