काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राति अमेरिका प्रस्थान गर्दैछन् ।
अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । असोज २ गतेबाट ७३ औं महासभा शुरु भइसकेको छ ।
विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रमलाई ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






