काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । शिष्टाचार भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए । भेटवार्ताको क्रममा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागी प्रस्ताव गरेका थिए । उनले लगानीको सुरक्षाका लागी सरकारले कुनै कसुर बांकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याईदिन आग्रह गरेका थिए ।
युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए । ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले आग्रह गरेका छन् ।
त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाई छ । भेटका क्रममा युएईले १७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए ।
उक्त सम्मेलनमा प्रत्येक बर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ । गत वर्ष तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए । मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतहरुसंग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् ।






