के ट्रम्पले सिरियाली राष्ट्रपतिको हत्याको आदेश दिएकै हुन् त ?

चर्चित अमेरिकी पत्रकार बब वुडवर्डको नयाँ किताबमा डोनल्ड ट्रम्पले एकपटक अमेरिकी रक्षा मन्त्रालयलाई सिरियाली राष्ट्रपति बशर अल असदको हत्याको आदेश दिएको दाबी गरेको छ ।

वुडवर्डको किताब Fear: Trump in the White Houseमा ट्रम्प प्रशासनको निकै कडा समिक्षासमेत गरिएको छ ।

किताबमा रक्षामन्त्री जेम्स म्याटिसको हवाला दिँदै सन् २०१७ मा सिरियामा भएको रासायनिक हमलापछि ट्रम्पले असदको हत्याको माग गरेको बताइएको छ ।

यद्यपी, ट्रम्पले यी सबै दाबी मानिसहरुलाई भड्काउनका लागि गरेको भन्दै ठाडो अस्विकार गरेका छन् ।

ट्रम्पले यसबारे रक्षामन्त्रीका अधिकारीसँग कहिले पनि चर्चा नगरेको बताएका छन् । यता जेम्स म्याटिसले पनि किताबको उक्त दाबी खारेज गरेका छन् ।

किताबमा केही वरिष्ठ अधिकारीको हवाला दिँदै उनीहरुले थुप्रै संवेदनशील कागजात ट्रम्पसँग लुकाएकोसमेत बताइएको छ । यी कागजातमा ट्रम्पले दस्तखत गर्ने हुन् कि भन्ने डरले यसो गरिएको किताबले दाबी गरेको छ ।

किताबमा यो पनि लेखिएको छ कि वरिष्ठ अधिकारीले ट्रम्पलाई ‘झुटो’ र मूर्ख भनेका थिए ।

वुडवर्ड एक निकै प्रतिष्ठित पत्रकार हुन् । उनले सन् १९७० को दशकमा वाटरगेट स्क्यान्डलमा राष्ट्रपति रिचर्ड निक्सनको भूमिका सार्वजनिक गर्न ठूलो भूमिका निभाएका थिए ।

सुरुमा यो किताबका केही अंश वासिङ्टनमा प्रकाशित भए । त्यसको भोलिपल्ट न्यूयोर्क टाइम्समा यो विषयमा ह्वाइट हाउसका एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एक लेख छापियो । लेखमा प्रशासनको समस्याको जड राष्ट्रपति डोनल्ड ट्रम्पको अनैतिकता भएको अधिकारीले बताएका छन् ।

किताबमा असदबारे के भनिएको छ ?

किताबमा लेखिए अनुसार अप्रिल सन् २०१७ मा सिरियामा भएको रासायनिक हमलापछि राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागनलाई सिरियाली राष्ट्रपति बशर अल असदको हत्याको बन्दोबस्त मिलाउन निर्देशन दिएका थिए ।

किताब अनुसार जेम्स म्याटिस सुरुमा ट्रम्पको निर्देशन मानेका थिए तर पछि कुराकानीपछि उनले आफ्ना एक सहयोगीलाई उनले ‘यीमध्ये केही पनि’ नगर्ने बताए ।

ट्रम्पले पत्रकारसँगको कुराकानीमा र आफ्नो ट्वीटमा किताबको दाबीलाई पूर्ण रुपमा खारेज गरेका छन् । उनले बुधबार मिडियासँग भने, ‘यस्तो कहिले पनि सोचिएन न नै कहिले यस्तो सोचिनेछ ।’

उनले वुडवर्डको पूरा किताबलाई मनगढन्ते बताएका छन् । रक्षामन्त्री जेम्स म्याटिसले पनि किताबलाई कसैको उत्कृष्ट कल्पनाबाट प्रेरित बताएका छन् ।

एजेन्सी