लण्डन । लण्डनमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले तेश्रोपटक लण्डनमा आफूलाई प्रस्तुत गरेको छ ।
लण्डनको ब्रिक्सटनस्थित ओ टु एकेडेमीमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो ।
ब्याण्ड पहिलो पटक पाँच वर्षअघि वेम्बली एरेनामा प्रस्तुत भएको थियो जुन नेपाली संगीतकै इतिहासमा एउटा कोशेढुँगा बन्न सफल भयो । त्यसपछि दोश्रो र तेश्रोपटक ओ टु ब्रिक्सटनमा कन्सर्ट आयोजना भएको हो । कार्यक्रममा जसै नेपथ्य गाउन सुरु भएको थियो, उसैगरि हल भरिका दर्शकले पनि गाएरै साथ दिएका थिए । कार्यक्रमको सुरुवातै नेपथ्यको सार्वजनिक हुनै लागेको दसौं एल्बमबाट भएको थियो ।
‘कुरुप अनुहार हो,
यहाँ कोहि साथी छैन’
सरुभक्तले लेखेको र विक्रम गुरुङको संगीतले सजिएको यो गीतलाई नेपथ्यले अलिक बेग्लै सुनिने गरि एकोहोरोपनामा ढालेको छ । एकपछि अर्को प्रभावकारी गीतहरुको सूची सहित उपस्थित भएको नेपथ्यले कन्सर्टमा केहि नयाँ र केहि सर्वकालीक हिट यस्ता गीतहरु पनि प्रस्तुत गरेको थियो जुन बेलायतका श्रोताले यसअघि सुन्न पाएका थिएनन् । चाहे त्यो नेपथ्यको भर्खरै तयार भएको ‘शिरफूल शिरैमा’ होस् , केही समय अगाडी को गीत ‘पल्ला घरका बईका’ वा पुरानो गीत ‘आंगनै भरि’, दर्शकले नेपथ्यको साथमा साथ मिलाएर गाएका थिए ।
‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरुबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ मुख्य गायक तथा अगुवा अमृत गुरुङले भने, ‘यस्तो मायाले संगीतको यात्रामा लागेर हामीले बिताएको २५ वर्ष सार्थक भएछ भन्ने लाग्ने गरेको छ ।’ दुईघन्टा लामो प्रस्तुतिका क्रममा अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरुको अनुभव पनि सुनाए ।
उनले आफूले देखेको नेपालका बारे अथ्र्याउँदै बारम्बार नेपाली–नेपाली बीच एकताको आवश्यकता पनि औँल्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोग खाँचो पर्ने बताए । कन्सर्टमा पनि अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।







