‘आध्यात्मिक तथा भौतिक प्रगति संगसंगै जानुपर्छ -स्वामी आनन्द अरुण

लण्डन । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आध्यात्मिक तथा भौतिक प्रगति संगसंगै जानुपर्ने बताउनुभएको छ।

ओशेा क्याम्प युके तथा विश्व हिन्दु महासंघ युके शाखाद्वारा लण्डनको साउथहलस्थित श्रीराम मन्दिरमा बुधबार आयोजित एक समारोहलाई संबोधन गर्दै स्वामी अरुणले पैसाले जीवनमा ठूलो घर, मोटरजस्ता सुविधा जोडन सकिने तर सुख, सन्तोष र आनन्द जोडन नसकिने बताउनुभयो। उहाँले संसारका सबैभन्दा धनी पश्चिमा मुलुकहरुमा आत्महत्या, डिप्रेसन, तनाव र अन्य मानसिक समस्याहरु बढ्दै गएको जनाउँदै हाँसीरहेका मानिसहरु भेटन नेपालका गाउँघरमै जानुपर्ने बताउनु भयो।

‘आध्यात्मिक तथा भौतिकरुपले जीवनमा कसरी समृद्ध बन्ने’ भन्ने विषयमा प्रवचन दिंदै स्वामी अरुणले विज्ञान र प्रविधिको विकासले मानिसको जीवन निकै सुविधापूर्ण भएको साथसाथै त्यसले कैयौं समस्याहरु पनि ल्याएको बताउनुभयो। उहाँले विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मानसिक स्वास्थ्यसंग संबन्धित बिरामीहरु विश्वभरि मानिसहरुको मृत्युको प्रमुख कारण हुने जनाएको बताउँदै जीवनलाई सफल मात्रै हैन, कसरी सुफल बनाउने अहिलेको मुख्य चुनौती हो भन्नुभयो।

स्वामी अरुणले हरेक दिन कमसेकम एक घन्टा आफ्नालागि छुट्याउन र त्यसमा बीस मिनेट योग, बीस मिनट प्राणायाम र बीस मिनट ध्यान गर्न सुझाव दिनुभयो। युट्युबमा गएर https://www.youtube.com/results?search_query=tapoban+yoga हेरेर योग र प्राणायाम अभ्यास गर्न सकिने स्वामी अरुणले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ज्ञान, ध्यान र दर्शनका त्रिवेणी व्यक्तित्व स्वामी आनन्द अरुणले नेपाल र नेपालीलाई संसारभरि चिनाउन अभूतपूर्व योगदान पुराइरहेको बताउनुभएको थियो। कार्यक्रमको शुरुमा मन्दिरको बोर्डअफ ट्रष्टीजका अध्यक्ष उमेशचन्द्र शर्माले स्वामी अरुणलाई सम्मान गर्नुभएकोथियो भने विश्व हिन्दु महासंघ युकेका महासचिव बालमुकुन्द जोशीले स्वागत मन्तव्य दिनुभएकोथियो। कार्यक्रमको अन्त्यमा कीर्तन ध्यान पनि गरिएको थियो।