नुवाकोट, जेठ १३ – भूकम्पले निम्त्याएको विपत्तीमा उद्धारको लागि अहोरात्र खटिएको नेपाली सेनाले राहत वितरणमा पनि आफ्नो सक्रियतालाई बढाएको छ । राहत सामग्री नपुगेका नुवाकोटका दुर्गम गाउँवस्तीमा नेपाली सेनाले राहत वितरण गरिरहेको ताजा खबरले बताएको छ |जिल्लाको ६१ वटै गाविसमा उद्धार कार्यमा खटिएको नेपाली सेनाको फष्र्ट रैफल गणको संयोजनमा सैनिक श्रीमती संघले केही दिनअघि बेलकोट, सुनखानी र तलाखु गाविसमा आफ्नै स्रोतबाट जुटाएको खाद्यान्न, त्रिपालसहितका राहत सामग्री वितरण गरेको हो ।
राहत नपुगेको खबर पाएपछि बेलकोटका ५ सय ५८, सुनखानी र तलाखु गाविसमा भूकम्पबाट अतिप्रभावित एक हजार घरपरिवारलाई राहत सामग्री वितरण गरिएको फष्र्ट रैफल गणका गणपति पवन खत्रीले जानकारी दिए । ‘राहत नपाइएको गुनासो स्थानिय जनताबाट आएपछि हाम्रो संयोजनमा सैनिक श्रीमती संघलाई लिएर हामी त्यहाँ पुग्यौँ’, गणपति खत्रीले भने, ‘वास्तविक राहत नपाएका पीडितहरु भएरै होलान्, हामी पुगेपछि ज्यादै खुसी भए ।’ उद्धार सँगसँगै राहत नपुगेका क्षेत्रमा राहत पु¥याउने कार्यलाई पनि प्राथमिकताका साथ आफुहरुले लिएकोउनले बताए ।
सैनिक श्रीमती संघले बेलकोट ४ र ५ वडाका ५ सय ५८ घरलाई त्रिपाल, कम्बल र स्यानेटरी प्याडदेखि विभिन्न प्ररकारका खाद्यान्नको २० किलो राहत सामग्री हस्तान्तरण गरेको छ । सदरमुकाम नजिकै भएर पनि यहाँ राहत नपुगेको खबरपछि बेलकोटमा पुगेर वितरण गरिएको थियो । राहत पाउनेमा वडा नं. ४ मा २ सय ६८ र वडा नं. ५ का ३ सय १३ घरपरिवार छन् । सदरमुकामबाट टाढाका वस्तीहरुमा राहत वितरणलाई प्राथमिकता दिइरहँदा सदरमुकाम आसपासकालाई छुटेको भन्दै जिल्ला दैवीप्रकोप उद्धार समितिमा पटक–पटक गुनासो आइरहेपछि पहिलो पटक सैनिक श्रीमती संघ त्यहाँ पुगेको हो ।
यसैगरी, संघले जिल्लाको पुवी गाविस सुनखानीका सबै वडा र सिन्धुपाल्चोसँग सिमाना जोडिएको दुर्गम तलाखु गाविसको वडा नं. ३ मा गरी एकहजार परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । सोमवार त्यहाँ गणपति खत्रीसहित पुगेर श्रीमती संघले रु. २ हजार बराबरको १ हजार प्याकेट खाद्यान्न वितरण गरेको छ । यसबाहेक ४ सय त्रिपाल, बिस्कुट एक हजार प्याकेट, २ बाकस स्यानीटेशन किट, एकसय वटा टर्चलाईट, पोर्टेवल टेन्ट १५ थान र बच्चाहरुको लागि अन्न खानेकुरा वितरण गरिएको थियो ।
सडक आसपासका वस्तीमा मात्रै राहत थुप्रिने भएपछि टाढाका दुर्गम क्षेत्रहरुमा राहत पु¥याउने कामलाई आफुहरुले प्राथमिकतामा राखेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए । ‘भोकमरीसमेत लाग्ने अवस्थामा पुगेका त्यस्ता ठाउँ खोजीखोजी पु¥याउनुपर्छ भनेर सैनिक श्रीमती संघलाई बिकट र नपुगेको क्षेत्रमा पु¥याउन भनेका हौ’, निरौलाले भने । उनका अनुसार खान पाउने र घर नभत्केका हरु पनि राहतको हात थाप्न आउने गरेको पाईएको छ ।’
जिल्लामा राहत बोकेर आउने संस्थालाई हामीले खासै उन्नपात उब्जाउ नहुने दुर्गम र भूकमपबाट अतिक्षतिग्रस्त गाविसमा पहिलो प्राथमिकता दिन लगाएका छौं प्रजिअ निरौलाले भने, ‘यो प्रयासले सबैतिर राहत वितरण समानुपातिक भएको पाइएको छ ।’ जिल्लामा भित्रिने धेरैजसो संघसंस्था आफ्नो स्वार्थअनुसार राहत बाँड्न खोज्ने प्रवृतिलाई निरुत्साहित गरिएको उनले बताए ।






